नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। उनीहरूमध्ये ११ जना मंसिर (१४ गते) र एक जना सोमबार (१८ गते) पक्राउ परेका थिए।
उनीहरूलाई बुधबार काठमाडौँ प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो।
मंसिर १३ गते दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता रावल, सन्तोष रोका र सन्तोष नेपाल पक्राउ परेका थिए। त्यस्तै सोमबार (मंसिर १८) गते द्रोण डाँगी पक्राउ परेका थिए।
सरकारले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको छ।
युक्रेनसँग जारी युद्ध लड्न रसियन सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रले हालै सार्वजनिक गरेको सूचीअनुसार गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएका हुन्।







Discussion about this post