HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सामाजिक सुरक्षा भत्ता पाउने सङ्ख्या ५ वर्षमै झन्डै १० लाख जनाले बढ्याे

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो पाँच वर्षको अवधिमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या झन्डै १० लाख जनाले बढ्दा त्यही अवधिमा सरकारले सामाजिक सुरक्षातर्फ बेहाेर्नुपर्ने दायित्वको अंश झन्डै चार गुणाले बढेको देखिएको छ ।

चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गर्दा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले तलब भत्ता, प्रशासनिक खर्च, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीका लागि मात्रै सरकारले १२ खर्ब ८० अर्ब रुपैयाँ बराबर विनियोजन गर्नुपरेको उल्लेख गर्नुभएको थियो । यी शीर्षकको खर्च सरकारको अनिवार्य दायित्व हो ।

चालु आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको सरकारले सामाजिक सुरक्षातर्फ खर्च गर्नका लागि मात्रै कुल वार्षिक विनियोजनको नौ प्रतिशत अर्थात् एक खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ बराबर छुट्याएको छ । नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले गैरयोगदानमूलक कार्यक्रमका रूपमा सञ्चालन गर्दै आएको सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बढ्दो क्रममा देखिएको छ ।

लाभग्राहीको सङ्ख्या बढेसँगै त्यसको दायित्व बहनका लागि सरकारलाई आर्थिक भार पनि क्रमशः बढ्दो क्रममा छ । सामाजिक सुरक्षातर्फ सरकारलाई बर्सेनि बढिरहेको दायित्वबारे गम्भीर भएर सोच्नुपर्ने र सामाजिक सुरक्षा कार्यक्रमलाई पुर्नपरिभाषित गर्नुपर्ने बेला आएको अर्थतन्त्रका जानकारहरू बताउँछन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल सामाजिक सुरक्षाका कार्यक्रमबाट राज्यलाई पर्न गएको भारलाई सन्तुलन र व्यवस्थित बनाउन आवश्यक भइसकेको बताउनुहुन्छ ।

नेपालको औसत आयु बढिरहँदा वृद्धभत्ता पाउने उमेर हद बढाउनुपर्ने र दोहोरो सुविधा हटाइनुपर्ने उहाँको भनाइ छ । ‘नेपालीको औसत आयु बढेसँगै वृद्धभत्ता पाउने उमेर हद बढाउँदै लैजान आवश्यक छ । नक्कली बिल भरपाई बनाई दोहोरो सुविधा लिने लाभग्राहीलाई कडा सजायको व्यवस्था गरी राज्यको सम्पत्ति दुरुपयोग हुनबाट जोगाउनुपर्छ’, कँडेलले भन्नुभयो, ‘लोककल्याणकारी राज्यमा सरकार सामाजिक सुरक्षाको दायित्वबाट अलग हुन सक्दैन । वास्तविक लाभग्राहीलाई भत्ताबाट वञ्चित नबनाउने र दुरुपयोगबाट जोगाउने काम सरकारले गर्नुपर्छ ।’

पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा रहेको सामाजिक सुरक्षातर्फको दायित्वलाई व्यवस्थित गर्न भत्ता आवश्यक पर्ने लक्षित वर्गको पहिचान गरी त्यसको वितरण प्रणाली व्यवस्थित गर्न आवश्यक रहेको धारणा अर्थविद् डा. चन्द्रमणि अधिकारी राख्नुहुन्छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही पहिचानमा राज्य चुकेको उहाँको बुझाइ छ । ‘जसलाई सामाजिक सुरक्षा भत्ता आवश्यक छ त्यही वर्गलाई जीवन धान्ने गरी दिनुपर्छ । आर्थिक रूपमा सम्पन्न वर्गलाई पनि भत्ता वितरण गरी राज्यमाथि आर्थिक भार थप्नु ठिक होइन । राज्यको अनिवार्य दायित्वको रूपमा रहेको सामाजिक सुरक्षा भत्तालाई अब नयाँ ढङ्गले सोच्न आवश्यक छ’, उहाँले भन्नुभयो ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमको परिभाषा, मापदण्डलाई समयानुकूल परिमार्जन गरी त्यहीअनुरूप कार्यविधि तयार पार्नुपर्ने उहाँको भनाइ छ । सामाजिक सुरक्षा वितरणका लागि नीतिगत सुधारमार्फत दोहोरो सुविधा हटाउनुपर्ने, उमेर हदलाई वैज्ञानिक बनाई बढ्दो भारलाई सन्तुलिन गर्न सकिने उहाँ बताउनुहुन्छ ।

कति छन् सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही ?

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गतको सामाजिक सुरक्षा शाखाका अनुसार आव २०७५/७६ मा सामाजिक सुरक्षा भत्ता पाउने मानिसको सङ्ख्या २८ लाख २७ हजार पाँच सय १८ थियो । गएकाे आव २०७९/८० सम्म आइपुग्दा यस्तो सङ्ख्या ३८ लाख दुई सय ७७ जना पुगेको छ । यो तथ्याङ्क हेर्दा पछिल्लो पाँच वर्षमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या नौ लाख ७२ हजार सात सय ५९ जनाले बढेको छ । सामाजिक सुरक्षा ऐन २०७५ को पछिल्लो संशोधित व्यवस्थाअनुसार ज्येष्ठ नागरिक, आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, लोपोन्मुख जातिलाई सामाजिक सुरक्षा भत्ता पाउने अधिकार रहेको छ ।

आव २०७६/७७ मा कुल भत्ता पाउने लाभग्राहीको सङ्ख्या तीस लाख ६२ हजार दुई सय २७ जना थियो । जुन अघिल्लो आवको तुलनामा दुई लाख ३४ हजार सात सय नौ जनाले बढी हो । त्यस्तै आव २०७७/७८ मा यस्तो भत्ता पाउने लाभग्राहीको सङ्ख्या ३४ लाख ५५ हजार चार सय ४६ जना पुगेको देखिन्छ । जुन त्योभन्दा अघिल्लो आवको तुलनामा तीन लाख ९३ हजार दुई सय १९ ले बढी हो ।

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या अघिल्लो आव २०७८/७९ मा ३६ लाख दुई हजार सात सय पाँच पुगेको देखिन्छ । जुन यसअघिको आवको तुलनामा एक लाख ४७ हजार दुई सय ५९ ले बढी हो भने गएकाे आव ०७८/७९ को तुलनामा एक लाख ९७ हजार पाँच सय ७२ ले बढी हो ।

लोककल्याणकारी राज्यको उद्देश्य प्राप्तिका लागि ‘कोखदेखि शोकसम्म सामाजिक सुरक्षा’ भन्ने नारा लिएर गर्भावस्थादेखि मृत्यु संस्कारसम्म जीवनचक्रका सबै चरणमा सामाजिक सुरक्षाको प्रत्याभूत गराउने सरकारको नीति छ ।

सरकारी वा सार्वजनिक पदमा बहाल रहेको व्यक्ति, सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका सङ्गठित संस्थाबाट नियमित रूपले पारिश्रमिक, निवृत्तीभरण, अवकाश सुविधा वा अन्य सुविधा पाइरहको व्यक्तिले भने सामाजिक सुरक्षा भत्ता पाउँदैनन् । भत्ता वितरणका लागि वास्तविक लाभग्राही पहिचानमा समस्या हुने गरेको, दोहोरो सुविधा लिने गरेको, लाभ लिनुपर्ने केही व्यक्ति छुटेकोलगायतका समस्या विगत वर्षदेखि नै सुनिने गरेका छन् ।

अहिले सामाजिक सुरक्षा भत्ताको भुक्तानी बैंकिङ प्रणालीबाट हुने भएकाले विगतमा जस्तो दोहोरोपन नरहेको र पारदर्शीता बढेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गतको सामाजिक सुरक्षा शाखाका निर्देशक दिलकुमार तामाङ बताउनुहुन्छ । भत्ता पाउनुपर्नेले नपाएको, मृत्यु भइसकेकाले लगत कट्टा नगरेको लगायतका केही त्रुटिलाई विभागले नियमित अनुगमन र नियमन गरिरहेको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमिततालाई रोक्न बैंकिङ प्रणालीमा आबद्ध भएका हौँ । यसलाई अझ थप प्रभावकारी बनाउन विद्युतीय माध्यमबाट (ईएफटी) रकम भुक्तानी गर्ने क्रममा छौँ, उहाँले भन्नुभयो ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई थप व्यवस्थित बनाउन विभाग यो वर्षभरिमा सबै पालिकामा विद्युतीय भुक्तानी प्रणाली (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर–ईएफटी) बाट भत्ता वितरण गर्ने तयारीमा रहेको निर्देशक तामाङ्ले जानकारी दिनुभयो । गएकाे आर्थिक वर्षमा ५० वटा पालिकामा ईएफटी लागू गरेका थियौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ९० पालिकामा गरिसक्ने र वर्षभरिमा सबै पालिकामा ईएफटीबाट भत्ता वितरण गर्ने योजनामा छौँ, उहाँले भन्नुभयो ।

यसअघि सामाजिक सुरक्षाको रकम पालिकाले तयार पारेको लाभग्राहीको अद्यावधिक विवरण र भुक्तानी आदेशको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सम्बन्धित लाभग्राहीको बैंक खातामा भुक्तानी हुने गरेको थियो । अब ईएफटीमा आबद्ध भएसँगै सिधै पालिकाले लाभग्राहीको खातामा भत्ता जम्मा गर्न सकिने जनाइएको छ । लाभग्राहीको सङ्ख्यामा भएको वृद्धिसँगै प्रत्येक वर्ष खर्च निकासा बढिरहेको बताउँदै निर्देशक तामाङले भत्ता वितरणलाई थप व्यवस्थित बनाउन विभागले अध्ययन गरिरहेको समेत जानकारी दिनुभयो ।

पछिल्लो पाँच वर्षमा चार गुणाले बढ्यो आर्थिक दायित्व

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या बढेसँगै यसका लागि सरकारले बर्सेनि बेहोर्दै आएको आर्थिक दायित्व पनि थपिँदै गएको छ । विभागका अनुसार आव २०७५/७६ का लागि सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनका लागि ४० अर्ब ९९ करोड १३ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये त्यस आवमा ४० अर्ब २१ करोड ९६ लाख ७९ हजार रुपैयाँ बराबर खर्च भएको थियो । यस्तो रकम चालु आवसम्ममा आइपुग्दा एक खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ । जुन झन्डै चार गुणाले वृद्धि हो ।

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आव २०७६/७७ का लागि ६८ अर्ब ३१ करोड चार लाख ७८ हजार बराबर विनियोजन भएकोमा ६६ अर्ब २२ करोड १७ लाख ५२ हजार रुपैयाँ बराबर खर्च भएको थियो । त्यस्तै आव २०७७/७८ का लागि सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनका लागि ७० अर्ब ३९ करोड छुट्याएकाेमा ६८ अर्ब ६५ करोड रुपैयाँ बराबर खर्च भएको देखिन्छ । त्यस्तै अघिल्लो आव २०७८/७९ मा ९८ अर्ब एक करोड विनियोजन भएकोमा ९६ अर्ब छ करोड रुपैयाँ बराबर खर्च भएको थियो । त्यस्तै २०७९/८० मा सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले एक खर्ब पाँच अर्ब ७१ करोड रुपैयाँ बराबर विनियोजन गरेको थियो । जुन रकम गएकाे आर्थिक वर्षका लागि सरकारले गरेको कुल बजेट विनियोजनको झन्डै छ प्रतिशत बराबर हो ।

कस्ता व्यक्तिले पाउँछन् सामाजिक सुरक्षा भत्ता ?

सामाजिक सुरक्षा ऐनको व्यवस्थाअनुसार ज्येष्ठ नागरिक, अन्य ज्येष्ठ नागरिक र दलित नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्गता भएका, अति अशक्त अपाङ्गता, लोपोन्मुख जाति र बालबालिका गरी सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही आठ प्रकारका रहेका छन् । गएकाे असार मसान्तसम्म सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही सङ्ख्याको आधारमा ६८ वर्ष उमेर पुगेका १६ लाख २७ हजार नौ सय २१ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ वृद्धभत्ताका रूपमा पाइरहेका छन् ।

६० वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाहरूका नागरिक र दलित समुदायका व्यक्तिले मासिक दुई हजार रुपैयाँका दरले भत्ता पाउँछन् । गएकाे असार मसान्तसम्ममा यस्तो भत्ता पाउने व्यक्तिको सङ्ख्या एक लाख ६९ हजार चार सय २३ जना रहेको छ । त्यस्तै ६० वर्ष उमेर पुगेका सम्बन्धविच्छेद गरी अर्को विवाह नगरेका वा न्यायिक पृथकीकरण गरी बसेका महिलालाई र पतिको मृत्यु भएको ६० वर्ष उमेर पुगेका एकल महिला लाभग्राहीको सङ्ख्या दुई लाख १२ हजार छ सय ७० रहेको छ । यस्ता व्यक्तिलाई मासिक दुई हजार छ सय ६० रुपैयाँका दरले भत्ता वितरण हुने गरेको छ । पतिको मृत्यु भएका विधवा महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ६१ जना रहेको छ । विधवालाई मासिक दुई हजार छ सय ६० रुपैयाँ दरले सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको छ ।

पूर्ण अपाङ्गता भएका ‘क’ वर्ग’ अर्थात् रातो रङ्गको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका व्यक्तिले मासिक तीन हजार नौ सय ९० रुपैयाँका दरले भत्ता पाउँछन् । गएकाे असार मसान्तसम्ममा यस्ता सुविधा पाउने लाभग्राहीको सङ्ख्या ६६ हजार दुई सय ८१ जना रहेको छ । अति अशक्त अपाङ्गता भएका ‘ख वर्ग’ अर्थात् निलो रङ्गको अपाङ्गता परिचय पत्र प्राप्त गरेका एक लाख ३८ हजार सात सय १६ लाभग्राही छन् । उनीहरूलाई मासिक दुई हजार एक सय २८ रुपैयाँ बराबर भत्ता वितरण हुने गरेको छ ।

लोपोन्मुख आदिवासी तथा जनजातिअन्तर्गतका कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया गरी २२ हजार दुई सय आठ जनालाई मासिक तीन हजार नौ सय ९० रुपैयाँका दरले भत्ता वितरण भइरहेको छ । सरकारले तोकेका निश्चित क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानसम्मले मासिक पाँच सय ३२ रुपैयाँ बराबर सामाजिक सुरक्षा भत्ता पाउँछन् । यस्तो सुविधा पाउने लाभग्राहीको सङ्ख्या गएकाे असार मसान्तसम्ममा १२ लाख एक हजार आठ सय ९७ जना रहेको छ

Previous Post

तीन दलका शीर्ष तहमा कुरा नमिलेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन २३ गते मंगलबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

अर्थ

घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...

Read more

घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?

५ महिना अगाडि
1.2k

आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

५ महिना अगाडि
1.2k

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

बढ्यो सेयर बजार – नेप्से २६०१.६१ विन्दुमा

६ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन २३ गते मंगलबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.