प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलमा नेपाली राष्ट्रिय फुटबल टिमले विजयी सुरुवात गरेको छ।
बुधबार साँझ दशरथ रङ्गशालामा भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा अर्को एक गोल थपेको थियो।
नेपाललाई अग्रता दिलाउने क्रममा अनन्त तामाङले पहिलो गोल गरेका थिए। उनले खेलको ३० औँ मिनेटमा एरिक विष्टको कर्नरमा आकर्षक हेड गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। अनन्तको यो करिअरको तेस्रो अन्तराष्ट्रिय गोल हो।
नेपालले दोस्रो हाफमा अग्रता दोब्बर बनायो। नवयुग श्रेष्ठले अग्रता दोब्बर बनाउनले क्रममा ५६ औँ मिनेटमा करिब ३५ यार्डबाट गरेको प्रहार लाओसका गोरक्षक सौभान्शोकले राम्रो जज गर्न नसक्दा गोलमा परिणत भएको थियो। नवयुगको यो करिअरको आठौँ अन्तर्राष्ट्रिय गोल हो। पहिलो तथा दोस्रो हाफमा दुबै टिमले गोलका अन्य केही राम्रा अवसर चुकाउँदा लाओस र नेपालले थप गोलका अवसर गुमाएका थिए।
यसअघि नेपालले लाओससँग २०१६ मा नेपालले दुई पटक प्रतिस्पर्धा गरेको थियो। पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २०१६ मे १६ मा भिडेको नेपाल दोस्रो पटक १२ नोभेम्बर मा एएफसी सोलिडारिटी कपमा लाओससँग भिडेको थियो।
दुई टिमबीचको यो तेस्रो भेट हो। पहिलो खेलमा १–१ गोलको बराबरी भए पनि दोस्रो पटक एएफसी सोलिडारिटी कपमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। उक्त प्रतियोगिता नेपालले जितेको थियो। मकाउलाई हराउँदै नेपालले उपाधि जितेको थियो। यसअघि नेपालले गत डिसेम्बरमा पाकिस्तानविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलेको थियो। जुन खेलमा नेपालले १–० को जित निकालेको थियो।
नेपालका चार खेलाडीको डेब्यु
नेपालका तर्फबाट चार खेलाडीले लाओसविरुद्ध डेब्यू गरेका छन्। जसमा सनिस श्रेष्ठले सुरुवाती लाइनअपमा पर्दै राष्ट्रिय टिममा डेब्यु गरे। त्यस्तै, मणि लामा र दिपक सिंह ठकुरीले दोस्रो हाफमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। मणिले ७३ औँ मिनेटमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गर्दा उनले नवीन लामालाई सब्स्टिच्युट गरेका थिए।
त्यस्तै, दिपक सिंह ठकुरीले भने ८२ औँ मिनेटमा गोल स्कोर नवयुग श्रेष्ठलाई सब्सटिच्युट गर्दे मैदान प्रवेश गरेका छन्। त्यस्तै, सुमित श्रेष्ठले इन्जुरी समयमा डेब्यु गरे। उनले आयुष घलानको स्थानमा टिममा स्थान बनाउँदै डेब्यु गरे।






Discussion about this post