बजारमा तरकारीको मूल्य दुई सय प्रतिशतसम्म बढेको छ।
कालीमाटी बजार विकास समितिको तथ्यांक अनुसार शनिबारको तुलनामा आइतबार तरकारीको थोक मूल्य दुई सय प्रतिशतसम्म बढेको हो।
वर्षाका कारण अधिकांश ताजा तरकारीको मूल्य बढेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।
‘तरकारीको मूल्य घटेर सामान्य अवस्थामा आइसेको थियो,’ उनले भने, ‘बाढीले फेरि बढायो।
उनका अनुसार बाढीका कारण तरकारीको मूल्य बढ्नुका साथै आगमन प्रवृत्तिमै असर पारेको छ। शनिबारको तुलनामा आइतबार कालीमाटी तरकारी बजारमा तरकारी धेरै भित्रिन सकेको छैन।
‘दुईदिन पानी पर्दा तरकारी नै कम आएको छ,’ उनले भने, ‘मूल्य पनि केही बढेको छ।’उनका अनुसार शनिबार एक सय ५८ टन तरकारी तथा फलफूल भित्रिएकोमा आइतबार अहिलेसम्म ३८ टन मात्रै भित्रिएको छ। कालीमाटी तरकारी बजारमा बेलुका पनि विभिन्न जिल्लाबाट फलफूल तथा तरकारी भित्रिने गरेको छ।
‘हुनत हिजो धादिङबाट आएका तरकारीका साना गाडी सुरूमार्गबाट आएका थिए,’ उनले भने, ‘सबैलाई दिने हो भने परिमाण बढ्छ।’
बाढीले कृषि क्षेत्र कति असर पुर्याएको छ भन्ने तथ्यांक भने अहिलेसम्म नआइसकेको उनले बताए।
‘कृषि उपजको अवस्था के छ। किसानको अवस्था के छ। केही थाहा छैन,’ उनले भने, ‘बाढीले कृषि उत्पादन पनि बगायो भन्ने सुनिएको छ।’
कालीमाटी तरकारी बजारमा सामान्यतः काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुली, सर्लाही, चितवन लगायतका जिल्लाबाट तरकारी धेरै आउने गरेको छ।
राजमार्ग अवरूद्धका कारण बाहिरी जिल्लाबाट तरकारी धेरै आउन सकेको छैन। आइतबार धादिङ, काभ्रेबाट थोरै परिमाणमा तरकारी आएको छ भने बाँकी तरकारी काठमाडौं उपत्यकाबाट आएको सूचना अधिकारी विनयले जानकारी दिए।
आइतबार कालीमाटी तरकारी बजारमा लौकाको मूल्य दुई सय प्रतिशतसम्म बढेको छ। शनिबार लौकाको होलसेल मूल्य प्रतिकिलो ३० रूपैयाँ थियो भने आइतबार ९० रूपैयाँ किलो पुगेको छ।
त्यस्तै, गोलभेँडा, बन्दा, तितेकरेला, साग लगायतका तरकारीको मूल्य पनि बढेको छ।
तरकारीका गाडीलाई पनि सुरूमार्गबाट आउन दिए तरकारीको परिमाण बढ्न सक्ने उनको भनाइ छ।




Discussion about this post