ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैङ्कको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैङ्कले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैङ्कले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैङ्कको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २९.९० प्रतिशत बढेको छ। त्यस्तै, बैङ्कको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.२५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैङ्कको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ। जसका कारण बैङ्कको इम्पेरमेन्ट चार्ज ३ अर्ब ७४ करोड पुगेको छ।
नाफासँगै बैङ्कको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैङ्कको यस्तो आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैङ्कको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ। सो अवधिसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ।
३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैङ्कको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैङ्कको निक्षेप १४.३४ प्रतिशत बढेको छ भने कर्जा ४.२३ प्रतिशत बढेको छ।



Discussion about this post