नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम साढे तीन वर्षपछि पार्टीमा फर्किने भएका छन् ।
तत्कालीन नेकपामा देखिएको विवादपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई साथ नदिई तटस्थ बसेका गौतम नेकपा एकता राष्ट्रिय अभियान चलाउँदै बसेका थिए ।
२०७८ साउनमा नेकपा एमाले विभाजित भएपछि उनले २०७८ भदौ १८ गते पार्टी छाडेका थिए । काठमाडौंमा भएको नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेका उनले ओलीसँग तीव्र असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए ।
तर अब साढे तीन वर्ष पार्टीबाहिर रहेका उनी एमालेमा फर्किने पक्का भएको छ । ‘वामदेव गौतमको नेतृत्वमा हामी एमालेमै समाहित हुने निश्चित भएको छ । यसबीचमा अध्यक्ष गौतम र अध्यक्ष ओलीबीच दुई चरणको वार्ताले नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित हुने टुंगो लागेको हो’, एकता अभियानका प्रवक्ता डीबी कार्कीले खबरहबलाई भने, ‘यही शुक्रबार अध्यक्ष गौतम र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भएको वार्ताले यो निष्कर्ष निकालेको हो । आइतबार पनि दुई नेताबीच टेलिफोन संवाद गरेर एक सातामै अभियानलाई एमालेमा समाहित गराउने सहमति जुटिसकेको छ।’पछिल्लो पटक यही पुस १७ गते वामदेवले नेकपा (एकीकृत समाजवादी) सँग एकताको समझदारी गरेका थिए । गौतम र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एकताका लागि सैद्धान्तिक सहमति भएको बताएका थिए ।
तर त्यसबीचमा पुस २१ देखि २३ गतेसम्म च्यासलमा बसेको एमाले केन्द्रीय कमिटीको आठौं बैठकले पार्टी छाडेर गएकाहरूलाई फर्किनका लागि ढोका खुल्ला गरेसँगै वामदेव समाजवादीबाट टाढिएका थिए । यसबारेमा कार्कीले समाजवादीले एकताका लागि अनेक शर्त राख्नुका साथै अनावश्यक शंका गरेपछि अब त्यताको च्याप्टर बन्द भएको बताए ।
‘अभियानमा एमालेकै पृष्ठभूमिका नेताहरू धेरै छन् । एमाले नेपाली कम्युनिष्ट पार्टी आन्दोलनको मूल पार्टी पनि हो । त्यहीकारण अब एमालेमै समाहित हुने निश्चित भयो’, उनले भने, ‘सैद्धान्तिक सहमति भएर पनि एकीकृत समाजवादीले अनावश्यक शंका गरेकाले अब त्यताको कुरा सकियो । हामी अबको एक साताभित्रै एमालेमा समाहित हुन्छौँ ।’







Discussion about this post