जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय हुने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो ।
महाशाखाले आज शुक्रबारदेखि आइतबारसम्म मेघगर्जन/चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।






Discussion about this post