नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले आफ्नो अनुपस्थितिमा पनि टोलीले वाफ महिला च्याम्पियनसिपको उपाधि घर लिएर जाने विश्वास गरेकी छिन् । आफूले जोर्डनसँगको फाइनल खेल्न नपाए पनि मैदानबाहिर टोलीको समर्थनमा हुने उनले बताएकी छिन् ।
सावित्राले टोलीलाई हौसला दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘मलाई विश्वास छ, हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टोलीको रूपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौँ । प्रतिद्वन्द्वी कठिन भए पनि हामी पुनः एक पटक एकजुट भएर जित हासिल गर्नेछौँ भन्ने विश्वास मैले राखेको छु ।’
भण्डारीले आफू खेलाडीको रूपमा मैदानमा नभए पनि मैदानबाहिरबाटै टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छिन् । उनले आफूलाई क्लबले बढीभन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएको भन्दै धन्यवाद दिएकी छिन् ।
उनले लेखेकी छिन्, ‘फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैँ मेरा लागि सहज वातावरण सिर्जना गरिदिएकोमा धन्यवाद भन्न चाहन्छु ।’
फरवार्ड भण्डारीले नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरू नभएको पनि बताएकी छिन् । वाफ महिला च्याम्पियनसिपको फाइनलमा आज राति पौने १० बजे नेपाल र जोर्डन खेल्दैछन् ।
फ्रान्सेली क्लब एन अभान्ट ग्वेङ्गाम्पसँगको सम्झौताअनुसार सावित्राले फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । समूह चरण र सेमिफाइनल खेल विन्डो अन्तर्गत थियो । फाइनल खेल भने फिफा विन्डो बाहिरको हो ।







Discussion about this post