काठमाण्डौ, २२ साउन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा भन्दै आक्रोश व्यक्त गरेका छन् ।
आज (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो । ४ बजेका लागि सारिएको बैठक पनि पौने पाँच बज्दा समेत सुरु भएको छैन ।
यस सन्दर्भमा रास्वपा सभापति लामिछानेले यस्तो बताएका हुन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं’ कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक रहेको छ ।
जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुस्खद ।’ त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक क्विन्टल सुन प्रकरणमा प्रमुख प्रतिपक्षी एमालेले उच्च स्तरीय छानबिन समिति माग गरिरहेको छ ।
सत्तारुढ दलहरु सरकारले जारी राखेको अनुसन्धान एउटा टुंगोमा नपुगी अर्को समिति बनाउन तयार भएका छैनन् । यही विषयमा कुरा नमिल्दा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रभावित हुँदै आएको छ ।







Discussion about this post