राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ स्थित महिलाहरुका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएका छन् ।
वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएको एक सयौं दिनमा सांसद लामिछानेले निःशुल्क बस सेवा शुभारम्भ गरेका हुन् । यो बसको नाम ‘ब्लू बस’ राखिएको छ । उनले भरतपुर महानगरपालिकाको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर उक्त सेवाको सुरुवात गरेका हुन् ।
यो बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने रवि लामिछानेको सचिवालयले जनाएको छ । महिलाहरूलाई दिइएको कार्डमा लामिछानेले नमस्कार गरेको तस्बिर अंकित छ । लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार हरेक बिहान शक्तिखोरबाट छुट्ने बसले कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा सेवा दिनेछ । भरतपुरका विभिन्न सडक हुँदै शिवघाटसम्म पुग्ने बस साँझ फेरि शक्तिखोर फर्कनेछ ।
‘ब्लु बस’भित्र महिलाका लागि आवश्यक स्यानिटरी प्याडसहितका सामाग्री राखिएको लामिछानेले बताए । बसमा गुनासो सुन्न मिल्ने गरी ‘रविलाई पत्र’नामको बक्ससमेत राखिएको उनले बताए। यो बस विभिन्न माध्यमबाट आर्थिक स्रोत जुटाएर सञ्चालन गरिएको लामिछानेले बताए ।
यो बस सेवा प्रभावकारी बनेमा थप विस्तार गर्दै जाने उनले बताए । त्यसक्रममा रविले विभिन्न कार्यक्रम पनि घोषणा गरेका छन् । भरतपुरमा सचिवालय स्थापना गर्दै उनले विभिन्न ११ कार्यक्रम घोषणा गरेका हुन् ।
यो बस रास्वपाले खरिद गरेको भने होइन । पुरानो बसमा रङ लगाइएको हो । रास्वपाको ब्रान्डिङ कलर निलो भएको र बाचा पत्रमा पनि निलो रंगकै व्यवस्था गरिकाले ब्लू बस नाम राखिएको लामिछानेले बताए ।
बसमा महिलामात्रै चढेन पाउनेछन् । चालक र सहचालक पनि महिला राख्ने तयारी भएको उनले बताए । अहिलेका लागि भने महिला चालक उपलब्ध भइनसकेका कारण बस पुरूष चालकले नै चलाएका छन् ।






Discussion about this post