२ साउन, काठमाडौं । पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए ।
उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए ।
१० जिल्लामा बढी सङ्क्रमण
नयाँ देखिएका बिरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन् । सबभन्दा बढी सुनसरी जिल्लामा एक हजार पाँच सय ७१, धादिङ दुई सय ५६, दार्चुला एक सय ८८, कास्की एक सय ४९, सङ्खुवासभा ५८, काठमाडौँमा ४६, कन्चनपुर ३९, भक्तपुर ३५, म्याग्दी ३५ र झापा ३२ जनामा डेङ्गुका बिरामी भेटिएका छन् ।
नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
सम्भव भएसम्म लामखुट्टे भगाउने घुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ ।






Discussion about this post