एक–दुई दिनयता निष्कृय जस्तो देखिएको मनसुन शनिबारदेखि पुनः सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत छ ।
त्यसको विस्तृत जानकारी दिन र पूर्वसतर्कताका उपाय अपनाउन आग्रह गर्दै जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले पनि आज सूचना जारी गरी भोलिदेखि नदी तथा खोलाहरुमा जलसतह बढ्ने भन्दै तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक छ । यो रेखा अझै उत्तरतिर सरेर नेपालको झन् नजिक आइपुगेको छ । त्यसैको प्रभावले नेपालका धेरै ठाउँमा पानी पर्ने छ ।
एरिया कभरेजको हिसाबले र मात्राको हिसाबले पनि धेरै पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद महर्जनले जानकारी दिइन् । ‘हिजो र आज अलिकति कम पानी परेको देखिएको छ, भोलिदेखि मनसुन सक्रिय हुने भएकाले पानी पर्ने क्रम फेरि बढ्ने छ’ उनले भनिन् । उनका अनुसार सोमबारसम्मै मनसुन सक्रिय रहने सम्भावना छ ।






Discussion about this post