प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी तथा प्रथम महिला राधिका शाक्यले आफूहरूले मेहनत र ईमानदारीबाट जीवनयापन गरेको बताएकी छन्। शनिबार राजधानीमा आयोजित आफ्नो ‘करुण’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफ्नो जीवनका विभिन्न पक्षबारे कुरा गरिन्।
शाक्यले लामो समय राष्ट्र बैंकमा सेवा गरेको अनुभव सुनाउँदै भनिन्, ‘मैले ३०/३० वर्ष राष्ट्र बैंकमा सेवा गरेँ। उहाँ (ओली) पनि २०४८ सालदेखि लगातार सांसद हुनुहुन्छ।’ उनले राष्ट्र बैंकमा राम्रो सेवा सुविधा भए पनि आफूहरूले मेहनत गरेर मात्र घर बनाउन सफल भएको सुनाइन्।
‘मैले ३३ वर्ष राष्ट्र बैंकमा सेवा गर्ने मौका पाएँ। मलाई लाग्छ, अन्य ठाउँको तुलनामा राष्ट्र बैंकमा सेवा सुविधा राम्रै छ। जसोतसो मेहनत गरेर हामीले एउटा घर बनाएकै हो। २०४३ सालमा बिहे गरेपछि १७ वर्षसम्म डेरामा बस्यौँ,’ शाक्यले भनिन्।
आफ्नो घरबारे उठ्ने प्रश्नहरूको जवाफ दिँदै उनले थपिन्, ‘प्रश्न गर्ने साथीहरूलाई भन्न मन लाग्छ, त्यो घर कसरी बन्यो, एकएक हिसाब दिन तयार छु। आफ्नै पसिना र मेहनतले घर बनाएका हौँ।’
जीवनशैलीबारे कुरा गर्दै उनले आफूहरू सामान्य ढंगले बसोबास गर्ने बताइन्। ‘हाम्रो लवाइखवाइ एकदमै मितव्ययी छ। हामीले मात्र खानलाउन पाएकामा खुसी छैनौं, सम्पूर्ण नेपालीले खानलाउन पाउनुपर्छ भनेर लागिरहेका छौँ,’ उनले भनिन्।







Discussion about this post