क्यानडाको टोरन्टो पियर्सन विमानस्थलमा भएको विमान दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल बाँच्न सफल भएका छन्।
ग्रेटर टोरन्टो विमानस्थल प्राधिकरणकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले उक्त जानकारी दिएकी हुन्।
उनले भनिन्, ‘हामी धेरै खुसी छौं कि कुनै पनि यात्रुको मृत्यु भएन र दुर्घटनाको तुलनामा यात्रुहरूलाई भएको चोटपटक सामान्य थियो।’
आपतकालीन सेवाका अनुसार दुर्घटनामा एक बालक र दुई वयस्क गम्भीर घाइते भएका छन्।
टोरन्टो पियर्सन विमानस्थलले डेल्टा एयरलाइन्सको विमान मिनियापोलिसबाट आउँदै गरेको बताएको छ। विमानमा ८० जना सवार थिए। तीमध्ये ७६ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। जम्मा १८ जना यात्रुलाई अस्पताल लगिएको थियो।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २:४५ बजे अवतरणको क्रममा पल्टिएको थियो।
यो विमान डेल्टा एयरलाइन्सको सहायक कम्पनी एन्डेभर एयरद्वारा सञ्चालित छ।







Discussion about this post