आज प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दु धर्मावलम्बी भक्तजनहरूले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् । आजको दिनलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अति महत्त्वपूर्ण मानिन्छ ।
सूर्योदयदेखि १० घडीसम्मको समयमा शुद्ध स्थानमा घटस्थापना गरी तिलको तेलद्वारा माङ्गलिक स्नान गरेपछि देवीको पूजा गर्नुपर्दछ। पूजा कोठा वा दसैँ घरलाई शुद्ध माटो वा गाईको गोबरले पोतेर पवित्र बनाउनु पर्दछ । घट भन्नाले घडा (कलश) लाई जनाउँदछ भने स्थापना भन्नाले स्थापना गर्ने कार्य । घटस्थापना गरिएको स्थानमा शङ्ख, डमरु, घण्टी बजाउँदै सप्तशती चण्डी पाठ गरी दुर्गा भवानीको स्तुति गान गर्नुपर्दछ । पूजामा दुर्गाको नौ दिन आजबाट नै असत्यमाथि सत्यको विजय र अधर्ममाथि धर्मको जितको सन्देश फैलाइन्छ ।
दुर्गाको आवाहन गर्दै पूजा गर्ने ठाउँलाई कलश (पवित्र जल राखिएको घडा) लाई शुद्ध जलले भरि पञ्चपल्लव (बर, पिपल, समी, आँप, डुम्री) राखिन्छ । नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरी जमरा उमारिन्छ । दशमीको दिन देवीको प्रशादको रुपमा जमरालाई शिरमा राखिन्छ जसलाई शुभता र आशीर्वादको प्रतीक मानिन्छ ।
पूजामा शक्तिस्वरूपा दुर्गा भवानीको नौरुप–शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाका नामले पनि प्रसिद्ध छ । फूल, धूप, दियो, जल र अन्नको प्रयोग गरी मन्त्र जप र स्तोत्र पाठ गरिन्छ ।







Discussion about this post