यो वर्ष साउने सोमवार पशुपतिनाथ दर्शन गर्न आउनेलाई चारवटा बसले निःशुल्क यातायात सुविधा दिने भएका छन्।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले गीता प्रेस र यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले निःशुल्क बस सेवा दिने जानकारी दिएका हुन्।
सोमवारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन्। यीमध्ये दुईवटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले गरेको सदस्य सचिव जोशीले बताए।
“पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलोपटक हो। बिहान ४:०० बजेदेखि नै भक्तजनलाई निःशुल्क बस सेवा दिइनेछ। साउने सोमबारका अवसरमा साउन ५ गते सोमबार बिहान ३:०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने छन्”, जोशीले भने।
मूल मन्दिरमा भीड नहुने गरी कोषले यो वर्षको साउने सोमवारको दर्शनको व्यवस्था मिलाइने जनाएको छ। नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिर बाहिरको भागमा त्रिपाल राख्नेछ।
साउने सोमवारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, पानी एवं प्रसाद वितरणको व्यवस्था मिलाइएको छ।







Discussion about this post