अफ्रिकाका केही भागमा एमपक्स(मन्कीपक्स) रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। संस्थाले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयको रुपमा समेत व्याख्या गरेको छ ।
एमपक्स एक संक्रामक रोग हो। यसलाई पहिले मन्कीपक्स भनेर चिनिन्थ्यो। अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन् ।
अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकहरूले पनि रोगको द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार र उच्च मृत्यु दरमा चिन्ता व्यक्त गरेका छन्।डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ ।’
एमपक्स व्यक्तिहरू बीचको नजिकको सम्पर्कबाट फैलिन सक्छ। यो शारीरिक सम्पर्क, स्पर्श वा कुराकानी, एक अर्काको नजिक सास फेर्ने आदि गर्दा एक मानिसबाट अर्को मानिसमा सर्छ।
यो रोग लागेपछि सुरुमा रुघा खोकीको जस्तो लक्षण देखिन्छन्। पछि बिरामीहरूको छालामा घाउहरू हुन्छ। यस रोगबाट पीडित १०० मध्ये चार जनाको मृत्यु हुने तथ्यांकले जनाएको छ । बीबीसी







Discussion about this post