बाँझोपनको समस्या तीव्र गतिमा बढ्दै गएको छ । महिला र पुरुष दुवै यसको सिकार भएका छन् । चिकित्सकहरूका अनुसार कुल जनसंख्याको १५ प्रतिशत मानिस यो समस्यासँग जुधिरहेका छन् । यो एक गम्भीर समस्या हो, तर दम्पती यस विषयमा कुरा गर्न डराउँछन् वा लाज मान्छन् ।यदि कुनै दम्पतीले बिना कुनै गर्भ निरोधक अपनाएर एक वर्षसम्म लगातार यौन क्रियाकलापमा संलग्न भएपनि गर्भधारण हुन नसकेको अवस्थालाई बाँझोपन भनिन्छ ।बाँझोपनको समस्या महिला र पुरुषमा समान रूपमा हुन्छ । पुरुष र महिलामा बाँझोपनको विभिन्न कारण हुन सक्छन् ।महिलामा बाँझोपनको कारण
यदि हामी महिलाको बाँझोपनको बारेमा कुरा गर्छौं भने मुख्य रूपमा डिम्बाशयको कार्यक्षमतामा समस्या भए, डिम्बवाहिनी नलीले राम्रोसँग काम नगरेमा, पाठेघरको असामान्य बनावट, शरीरको हार्मोनमा गडबडी र डिम्बवाहिनी नलीमा टीबी भएमा महिलामा बाँझोपनको समस्या देखा पर्छ ।
पुरुषमा बाँझोपनको कारण
शुक्रकीटको गुणस्तर खराब भएमा, शुक्रकीटको संख्या कम भएमा, शुक्रकीट गतिशीलता कम भएमा, शरीरको हार्मोनमा गडबडी भएमा, तनाव र अन्य कुनै जीर्णरोगको कारण शुक्रकीटको संख्या कम हुँदा पुरुषमा बाँझोपनको समस्या देखा पर्छ ।
कुनै कारणवश दम्पती सँगै बस्न नपाउँदा, धुम्रपान, रक्सी, सुर्ती सेवन बढी मात्रामा गर्दा र विवाह तथा सन्तान योजनामा ढिलाइ गर्दा बाँझोपनको समस्या निम्तिने सम्भावना धेरै हुन्छ ।
पुरुषको तुलनामा महिलामा बाँझोपनको समस्या बढी हुन्छ ?
पुरुषको तुलनामा महिलामा बाँझोपनको समस्या बढी हुन्छ भन्ने कुरा गलत हो । यसका लागि ४० प्रतिशत महिला, ४० प्रतिशत पुरुष, १० प्रतिशत दुवै जिम्मेवार हुन्छन् । बाँझोपनको १० प्रतिशत कारण पत्ता लागेको छैन ।
बाँझोपनको लक्षण
बाँझोपनको सबैभन्दा ठूलो र पहिलो लक्षण भनेको विवाहको एक वर्ष बितिसक्दा पनि गर्भवती नहुनु हो । ३५ वर्षभन्दा माथिका महिलाले एक वर्ष कुर्नु हुँदैन । पीडादायी महिनावारी, महिनावारीमा धेरै रक्तस्राव, तल्लो ढाड दुखाइ र असामान्य योनीस्राव यसका लक्षणहरू हुन् ।
बाँझोपनको उपचार
बाँझोपनको उपचारका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा परिवार र साथीको सहयोग हो । बाँझोपनको कारण अनुसार उपचार सस्तो वा महँगो हुनसक्छ तर अधिकांशमा उपचार भने सम्भव छ । कतिपय अवस्थामा कृत्रिम गर्भाधान प्रक्रिया (आईभीएफ) पनि गर्नुपर्ने हुन्छ ।
महिला वा पुरुष स्वस्थ र फिट देखिए पनि उनीहरूको जीवनशैली पनि राम्रो भए पनि उनीहरूमा बाँझोपनको समस्या देखिंदैन भन्ने हुँदैन । कुनै शंका लागे तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । सबैभन्दा ठूलो कुरा यो समस्या महिला र पुरुष दुवैलाई हुनसक्छ, त्यसैले दुवैको परीक्षण र उपचार गर्नु जरुरी हुन्छ ।
बाँझोपनबाट बच्ने उपाय
विवाहअघि महिनावारीसँग सम्बन्धित कुनै समस्या छ भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ । यौनजन्य समस्या देखा परेमा तुरुन्तै उपचार खोज्ने, मानसिक तनावलाई व्यवस्थापन गर्ने, सानैदेखि खानपानमा विशेष ध्यान दिने र शारीरिक वजन नियन्त्रणमा राख्ने, रक्सी चुरोट अत्याधिक मात्रामा नखाने, दैनिक व्यायाम गर्ने गर्नुपर्छ ।







Discussion about this post