बालबालिकालाई व्यावहारिक बनाउने उपाय
साना बालबालिका हरेक कुरामा अभिभावकसँग निर्भर हुन्छन् । तर, १२ वर्ष पुगेपछि बालबालिकालाई केही कुरा अभिभावकले सिकाउनुपर्छ । जसकारण उनीहरू आत्मविश्वासी र आत्मनिर्भर बन्छन् । बच्चालाई व्यवस्थित बन्न सिकाउनुपर्छ । उनीहरूलाई आफ्नो कोठा, कपडा र आफ्ना सामान मिलाएर राख्न सिकाउनुपर्छ । यस्तो स्वभावले उनीहरूलाई संयोजित बन्न सिकाउँछ र आफ्नो सामान कहाँ राखिएको छ भनेर पनि उनीहरूले सहजै पत्ता लगाउन सक्छन् ।
कपडाको जतन गर्न सिकाउनुपर्छ । फोहोर कपडा धुने, सुकाउने, आइरन गरिएका कपडालाई सम्हालेर राख्न सिकाउनुपर्छ । बच्चामा सफा कपडा मात्रै लगाउने बानीको विकास हुन्छ । यस्ता गतिविधिले उसको व्यक्तित्व सकारात्मक बनाउँदै लैजान्छ ।
दैनिक प्रयोग हुने सामग्रीहरू पाउरोटी, दुध, कापी–कलम आदि किन्दा उनीहरूलाई पनि लैजानुपर्छ । व्यावहारिक जीवनमा प्रयोग हुने सामग्रीका विषयमा जानकार गराउनुपर्छ । बिस्तारै एक्लै यस्ता सामग्री किन्न जान पनि उनीहरूलाई आत्मविश्वास आउँछ ।
१२ वर्ष पुगिसकेपछि बच्चालाई चाउचाउ उमाल्न, अम्लेट बनाउन, दुध तातो बनाउन, पाउरोटीमा जाम लगाउन, चिया बनाउन सिकाउन सकिन्छ ।
मोबाइल र ल्यापटपमा अत्यधिक झुम्मिन दिनुहुँदैन । निश्चित समय मात्रै ग्याजेट चलाउन दिनुपर्छ । अत्यधिक समय ग्याजेट चलाउने बच्चामा अल्छीपन बढ्ने, मोटोपन हुने, आँखा दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिने गरेको छ ।
रुचिअनुसार योग, ध्यान, संगीत तथा नृत्यमा लगाउन सकिन्छ । यसले उनीहरूको व्यक्तित्व विकासमा ठूलो सहयोग पुर्याउँछ । रुचिअनुसार फुटबल, क्रिकेट, कराँतेजस्ता खेल खेलाउन पनि सकिन्छ । बच्चालाई आफ्नो निगरानीमा पार्कमा घुमाउन लैजाने तथा उनीहरूसँगै खेल खेल्ने गर्नुपर्छ ।






Discussion about this post