‘ओहो ! तिम्रो दाँत त कस्तो फाटिएको रहेछ त !’कुनै रमाइलो कुरामा हाँसिरहेका व्यक्तिलाई कसैले ‘नोटिस’ नै गरेर यस्तो भनिदियो भने हाँसिरहेका व्यक्तिले आफ्नो अनुहार खुम्च्याउँछ।
साथीभाइले जिस्केरै भनेपनि दाँत फटिएको समस्या भएका व्यक्तिको मन अमिलो पक्कै हुन्छ।
त्यसैले पनि आफ्नो दाँत मिलेको सुन्दर र आकर्षक होस् भन्ने चाहना सबैलाई हुन्छ।
शारीरिक सौन्दर्यता देखाउने विभिन्न पाटोहरू हुन्छन्। मानिसको शारीरिक सुगठन तथा अनुहारको बनोटले शारीरिक सौन्दर्यतामा प्रभाव पार्छ।
मुसुक्क हाँस्दा कसैले ‘तिम्रो दाँत त कस्तो मिलेको’ भनिदियो भने उसको मन प्रफुल्ल हुन्छ। तर, कतिपय व्यक्तिहरू आफ्नो नमिलेको दाँत अर्थात् फिट्टाफिट्टा भएको दाँत देखेर दिक्क हुनुभएको होला। मानिसको दाँत किन फाटिएको हुन्छ ? आज म यो विषयमा जानकारी दिँदैछु।
अगाडिको दुई दाँत बीचको खाली भाग जसलाई मिडलाइन डायस्टिमा भनिन्छ।मानिसको माथि अगाडिको २ दाँत बीचको दूरी ०.५ मिलिमीटर भन्दा बढी भएमा यो समस्या नै हो।
किन फाटिएको हुन्छ दाँत ?
दुईदाँत माथि रहने मासुको झिल्ली यदिअसामान्य रूपमा रहेकोअवस्थामा, आनुवंशिक रूपमा, बालबालिकाको बढ्ने उमेरमा पनि यो समस्या देखिने गर्छ। तर, सम्पूर्ण दुधे दाँत सकिएपछि यो समस्या आफैं समाधान हुन्छ ।
यस्तै, बालबालिकामा हुने हानिकारक बानीजस्तै औंला चुस्ने, ओठ टोक्ने, गाला र जिब्रोको मासु बीचको असन्तुलनले पनि दाँत फटिएको हुनसक्छ।
माथिको हड्डीमा रहेको सीस्ट, अतिरिक्त दाँत वा दाँत झरेको अवस्थामा पनि दाँत फाटिएको हुनसक्छ।
दाँत फाटिएका व्यक्तिमा हुने असर
दाँत फाटिएको समस्या भएका व्यक्तिहरूलाई मनोसामाजिक असर देखिन्छ। आफ्नो दाँत फाटिएकै भएर फोटो समेत खिच्न नखोज्ने गरेको पनि पाइन्छ।मानिसहरूले दाँत फाटिएका व्यक्तिलाई जिस्किएर केही भनिदिए भने उनीहरूमा मनोवैज्ञानिक असर पर्न सक्छ। कतिपय व्यक्तिहरू दाँत फाटिएको छ भन्ने कुरालाई मनमा लिएर खुलेर सामाजिक रूपमा समावेश हुन गाह्रो मान्ने, आत्मविश्वासको कमी, बोलेका केही शब्दहरू प्रस्ट नहुने, सम्पूर्ण दाँत र मुखको हड्डीहरूनमिल्ने समस्या पनि देखिन्छ।
के यो समस्याको रोकथाम सम्भव छ ?
दाँत फाटिने समस्या बालअवस्थामा हुने नकारात्मक बानीको
कारण पनि हुन्छ। बालबालिकामा हुने हानिकारक बानीहरू जस्तै औंला चुस्ने, ओठ टोक्ने आदि समस्या समयमै पहिचान गरेर यस्ता बानीको उपचार समयमै गर्नुपर्ने हुन्छ।
यस्तै, दाँतमाथि रहेको मासुको झिल्लीको समयमै शल्यक्रिया गरेर, अतिरिक्त दाँत, सीस्ट आदिको पहिचान गरी उपचार गरेमा यस्तो समस्याबाट बच्न सकिन्छ।
यदि, यस्ता बानीहरूमा सुधार भएपनि दाँत फाटिएको छ भने दन्त चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ।यो समस्याको प्रमुख उपचार भनेको तार बाँधेर दाँत मिलाउने हो।
जुन उपचारपछि दाँतलाई तारले सारेर जोडिदिने गर्छ, यो उपचार सकेसम्म सम्पूर्ण दुधे दाँत साटिएपछि र स्थायी दाँत आइसकेपछि शुरु गर्नुपर्ने हुन्छ।
यो उपचार अबधी १.५ देखि ३ वर्ष सम्म लाग्ने गर्छ।
तार बाँध्ने जस्तै अर्को उपचार हो कस्मेटिक उपचार। जसमा२ दाँत बीचको खाली ठाउँलाई कस्मेटिकसिमेन्टले भर्ने गरिन्छ।
दाँतको माथिबाट कभर गर्ने दाँतको बाहिरी भागमा मात्र कभर गर्ने आदि उपचार विधि हुन्छ।
अरु कस्मेटिक समस्या भन्दा अगाडिको दाँत बीचको खालीपनले सुन्दरतामा कमी ल्याउने र आत्मविश्वासमा समेत असर गर्ने गर्दछ।त्यसैले यस्तो समस्याको उपचार गर्नु उत्तम हुन्छ।






Discussion about this post