चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ। हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ। बिहीबारदेखि सुरु भएको मेला ५ दिनसम्म चल्नेछ। भक्तजनको ठूलो सहभागिता हुन थालेपछि विगतमा ३ दिनसम्म चल्ने मेला यो वर्षदेखि ५ दिनसम्म सञ्चालन गर्न लागिएको सत्यवती ताल संरक्षण विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए। उनका अनुसार यसवर्ष करिब २ लाख बढी भक्तजन मेलामा सहभागी हुने अनुमान छ।
मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, सालआदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूजा गरेपछि वर मागेर फर्कने परम्परा छ। मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ।
धार्मिक पर्यटकीयस्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ। यहाँ बाँसको लिगो लिएर आवाज निकाल्ने गरी चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ। मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ।







Discussion about this post