काठमाडौँ, ३ भदौ– आज आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
तर प्रमुख प्रतिपक्षी दल एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि भदौ ५ गते ३ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।
एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ । आइतबार बिहान संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
तर, सत्तापक्ष र प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न सकेको थिएन । आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको थियो ।
त्यस्तै बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने लगायत सम्भावित कार्यसूची रहेको थियो ।






Discussion about this post