HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आफ्नै भिनाजुसँग एक करोडको बार्गेनिङ, पैसा नपाएपछि बलात्कारको मुद्दा !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

धादिङका पूर्ण बहादुर बुढाथोकी पेसाले सिभिल इञ्जिनियर हुन् । कामको सिलसिलामा अधिकांश समय काठमाडौं बाहिर बस्नुपर्ने हुँदा घरमा उनकी आमा, पत्नी र छोरामात्रै हुन्थे । हाइड्रोमा काम गर्ने इञ्जिनियर भएका कारण अधिकांश समय लमजुङ, पर्वत लगायतका जिल्लामा हुन्थे उनी ।२०७२ सालमा पूर्णकी श्रीमती सरिता थापा (नाम परिवर्तन) गर्भवती भइन् । त्यसपछि पूर्णकी सासु स्युचाटारमा रहेको डेरामै आएर छोरी सरिताको हेरबिचार गर्न थालिन् । डेरामा पूर्णकी आमा पनि सँगै थिइन् ।

त्यही समयमा धादिङको गंगाजमुना गाउँपालिका– ७, बुढाथुमकी करुणा थापा (नाम परिवर्तन) एकाएक दिदी सरितालाई भेट्न भनेर डेरामा आइपुगिन् । सरिताको ठूलोबुबाको छोरी तथा नाताले बहिनी पर्ने भए पनि गाउँमा उनीहरुबीच त्यस्तो राम्रो हिमचिम थिएन । सरिताको घरबाट करिब ४५ मिनेटको दूरीमा करुणाको घर भएको र विद्यालय पनि फरकफरक भएका कारण उनीहरुबीच हिमचिम थिएन । यद्यपि सरितालाई करुणाबारे जानकारी थियो ।

आफू गर्भवती भएको अवस्थामा भेट्न बहिनी आएपछि सरिता पनि खुसी भइन् । कुराकानीकै क्रममा करुणाले ‘दिदीलाई गाह्रो छ, म केहीदिन यहीँ बस्छु’ भनिन् । त्यतिबेला सरिताको गर्भ ८ महिना भइसकेको थियो ।करुणा दुई–तीन दिन सरिताकोमा बस्ने र फेरि दुई–तीन दिन आफ्नो डेरामा जाने गर्थिन् । सरिताले दोस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएपछि पनि केही समय करुणा आउने र जाने गरिरहन्थिन् । सरिता सुत्केरी भएको करिब २ महिनापछि भने करुणा ‘परीक्षा छ, अब आउँदिनँ’ भनेर आफ्नै डेरामा गइन् ।

त्यसको करिब ६ महिनापछि एकाएक सरिताकी आमालाई ‘करुणाले विष सेवन गरेकाले अस्पतालमा उपचार भइरहेको छ’ भनेर फोन आयो । त्यसपछि सरिताको आमा स्वयम्भुस्थित मनमोहन अस्पतालमा पुगेर करुणाको हेरचाह गरिन् । उनले वास्तवमा विष सेवन गरेको नभई आफूले भनेको जस्तो नगरिदिएको कारण आमाबुबालाई रिस देखाउन आफूले खाइरहेको औषधिको मात्रा धेरै खाएर अचेत भएकी थिइन् । त्यतिबेला उनकी दिदी पनि काठमाडौंमै थिइन् ।
सुरुमा विष सेवन गरेको भनेर अत्तालिएर अस्पताल पुगेकी सरिताकी आमाले करुणाको उपचारपछि उनलाई आफ्नै घरमा लिएर आइन् । त्यतिबेला सरिता पनि माइतीघरमै थिइन् ।

सरिताको छोरी करिब ८ महिनाको भइसकेकी थिइन् । करुणा पनि बिस्तारै निको हुँदै गइन् र त्यहीँ बसेर दिदीलाई सहयोग गर्न थालिन् । सरिताको पति पूर्ण भने कामको सिलसिलामा धेरैजसो बाहिरै हुन्थे । कहिलेकाहीँ आउने क्रममा पूर्ण र करुणाबीच चिनजान भएको थियो । पूर्ण धेरैजसो बाहिर हुने हुँदा सरिता पनि माइतीमै बस्न थालिन् । पूर्णको डेरामा भने बुढीआमा मात्रै थिइन् । करुणा सोही समयमा पूर्णकी आमासँग पनि नजिक भइन् ।

चिनजानपछि साली–भेना नजिकिन थाले । पूर्णले साली करुणाका लागि जागिर खोजिदिए, गर्ने अन्य सहयोग पनि गरे । उनलाई स्कुटर सिकाइदिए, आफूसँग रहेको स्कुटर पनि चलाउन दिए । सरिताले करुणालाई अब आफ्नै डेरामा जान भनिन्, तर पनि करुणा भने भिनाजु (पूर्ण) धेरैजसो बाहिर हुने भएकाले आमाको हेरचाह गर्छु भन्दै पूर्णको कलंकीमा रहेको डेरा कोठामै बस्न थालिन् ।

सरिताका अनुसार पूर्णले एकदिन फोन गरेर बहिनीले ‘लिमिट क्रस’ गरेको भन्दै सम्झाइदिनका लागि सरितालाई भने । तर कस्तो ‘लिमिट क्रस’ गरेको हो भनेर पूर्णले खुलाएनन् । सरिताले धेरै पटक सोधेपछि पूर्णले करुणा आफूतिर लागेको र मन पराएको कुरा गर्न थालेको भन्दै सम्झाउनका लागि भने । सरिताले उक्त कुरा करुणालाई भनिन् । तर करुणाले त्यस्तो केही नभएको र भिनाजुसँग सामान्य जिस्केको मात्रै भनेर टारिन् ।

तर कुरा यहीँ रोकिएन । पूर्ण रातको समयमा आफ्नो कोठामा सुतिरहेको अवस्थामा करुणा पूर्णको कोठामा प्रवेश गरिन् र सँगै सुतिन् । बिउँझिएपछि पूर्णले आफूसँगै साली आएर सुतेको थाहा भएपछि ‘यो के गरेको ?’ भनेर सोधे । करुणाले आफूले मन पराएको भन्दै बाहिर निस्कनै खोजिनन् । पूर्णले त्यसको भोलिपल्ट नै सरितालाई करुणाको हर्कतबारे जानकारी गराए ।

त्यसलगत्तै सरिताले करुणालाई आफ्नो घरबाट तत्कालै निकालिदिइन् । तर जब करुणालाई घरबाट निकालियो, तब सुरु भयो सरिता र पूर्णको टाउको दुखाइको दिन । करुणालाई घरबाट निकालेपछि करुणाले पूर्णसँग ‘ब्ल्याकमेल’ गर्न थालिन् । आफूले भनेको जस्तो नगरिदिए बलात्कारको मुद्दामा फसाइदिने भन्दै टर्चर दिन थालिन् ।

अनावश्यक तनाब लिनुभन्दा साली हो भनेर पूर्णले सुरुसुरुमा श्रीमती सरितालाई समेत केही नभनी रकम दिइरहे । तर करुणाको ‘ब्ल्याकमेल’ दिनदिनै बढ्दै गयो । हुँदाहुँदा सरितालाई डिभोर्स दिएर आफूसँग विवाह गर्न दबाव दिन थालिन् । तर दुई सन्तानका पिता पूर्णले करुणाको प्रस्ताव अस्वीकार गरे । करुणाले उनलाई तनाब दिन छाडिनन् ।

सरिता थापाका अनुसार करुणा २०७६ फागुन महिनादेखि घरमा आएर झगडा गर्ने र पूर्णले श्रीमती बनाउनुपर्ने भन्दै दबाब दिन थालिन् । २०७६ सालको फागुन महिनामै करुणाले ‘ब्ल्याकमेल’ गरी एकाएक चितवनको कुरिनटारमा रहेको एक रिसोर्टमा पुगेको र पूर्ण त्यहाँ नआएमा आफूले आत्महत्या गर्ने र त्यसको सबै दोष पूर्णमा जाने भनेर धम्की दिइन् ।

पूर्णले त्यो कुरा आफूलाई बताएपछि आफूले नै कुरिनटार गएर सम्झाएर करुणालाई घर ल्याउन आग्रह गरेको सरिताले बताइन् । सरिताले रातोपाटीसँग भनिन्, ‘तत्कालीन समयमा मेरा पति रहेका पूर्णले त्यहाँ जानुभन्दा अगाडि नै मलाई उक्त कुराबारे जानकारी गराएका थिए, मैले त्यहाँ गएर सम्झाएर ल्याउनुस् भनेको हुँ । त्यसपछि त्यहीँ शारीरिक सम्पर्क भएको रहेछ, त्यो कुरा मलाई पूर्णले त्यसको धेरैपछि मात्रै जानकारी गराए ।’

जब करुणा र पूर्णबीच आपसी सहमतिमै यौनसम्बन्ध भयो, त्यसपछि करुणाले झनै धेरै ‘ब्ल्याकमेल’ गर्न थालेको सरिताले बताइन् । उनले भनिन्, ‘मेरो बहिनी हो भनेर मैले पनि धेरैपटक सम्झाएँ । तर उनी तेरोमात्रै पोइ हो र ? मेरो पनि हो भन्दै उल्टै मलाई नै गालीगलौज गर्थिन्, मुखमा जे आयो, त्यही बोल्थिन् । प्रत्येकपटक पैसा माग्थिन् । पूर्णले दिनु भनेर मैले नै धेरैपटक करुणालाई पैसा दिएको छु । यकिन रेकर्ड राखेको छैन, तर बैंकबाट झिकेर पटकपटक गरी मैले नै १५÷१६ लाख दिएको छु । कतिपय रकमको रेकर्डसमेत मैले राखेको छु । मैले मेरो आमाको पेन्सनबाट आएको रकमसमेत करुणालाई दिएको छु ।’

सरिताका अनुसार पछिल्लो समय करुणाले एक करोड रुपैयाँको माग गर्न थालेकी थिइन् । करुणाले नातामा ठूलोबुबा पर्ने अधिवक्ता भोज बहादुर केसीको उक्साहटमा परेर एक करोड रुपैयाँको माग गरेको र रकम दिन नसक्ने भएपछि बलात्कारको जाहेरी दिएको सरिताले बताइन् । उनले भनिन्, ‘पछिल्लो समय करुणाले एक करोड मागेकी थिइन् । हामी पनि पैसा दिँदादिँदा आजित भइसकेका थियौँ । हामीले एक करोड दिनसक्ने अवस्था थिएन । त्यसपछि उनले २०७९ फागुन १२ गते प्रहरी वृत्त बालाजुमा बलात्कारको जाहेरी दिएकी रहिछिन् ।’

सरिताका अनुसार उनले पनि करुणाको तनाबका कारण श्रीमानसँग सँगै बस्न नसक्ने भएपछि छोराछोरीको आर्थिक दायित्व पूर्णले नै लिने गरी २०७९ असार महिनामा सम्बन्धबिच्छेद गरिन् । पूर्णको बसोबास काठमाडौंमा नहुने भएकाले छोराछोरी आफूसँगै रहेको सरिताले बताइन् । उनले भनिन्, ‘छोराछोरीको खर्च भने उहाँले नै दिने गर्नुभएको थियो ।’

कामकै सिलसिलामा एउटा ट्रेनिङका लागि चीन गएर फर्किएपछि पूर्णलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेर प्रहरी वृत्त बालाजुमा ल्यायो । त्यसपछि करुणाले दिएको जाहेरीका आधारमा पूर्णविरुद्ध जबरजस्ती करणीको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चल्यो र यतिबेला पूर्ण पुर्पक्षका लागि थुनामै छन् ।

करुणाले प्रहरी वृत्त बालाजुमा दिएको जाहेरीमा २०७८ मंसिर ४ गते आफूमाथि बलात्कार भएको दाबी गरेकी छन् । यद्यपि जाहेरी भने १५ महिनापछि अर्थात् २०७९ फागुनमा मात्रै दिएकी छन् ।

करुणाले दिएको जाहेरीमा भनिएको छ,

‘प्रतिवादी पूर्ण बहादुर बुढाथोकी मेरो माईला बाको छोरी ज्वाइँ हुन् । निजले मलाई मिति २०७८।०८।०४ गते घुम्न जाउँ भनि का.जि तारकेश्वर न.पा ३ स्थित लब्ली रेष्टुरेण्टको कोठा नं. ९ मा खाजा नास्ता गर्ने भनी लगी मलाई ललाई फकाई प्रलोभनमा पारी मेरो स्वीकृति नहुँदा नहुँदै मलाई कुटपिट लछारपछार पारी मेरो कुमारित्व भङ्ग गरी जबरजस्ती करणी गरेकोमा मैले निजलाई कानुनी कारबाहीको कुरा गर्दा प्रलोभन दिई विवाह गर्ने, आधा अंश दिने आदि प्रलोभन दिएका र सो प्रलोभनका कारण निजले मलाई पटक पटक जबरजस्ती करणी गर्दै आएका छन् ।’

पहिले एक करोडको बार्गेनिङ, पैसा नपाएपछि श्रीमती स्वीकार गर्न लगाइयो

करुणाले पूर्णविरुद्ध जबरजस्ती करणीको कसुरमा जाहेरी दिनुभन्दा पहिले २०७८ चैत महिनामै करुणा र पूर्णबीच विवाद भएको देखिन्छ । करुणाले पूर्ण ससुराली घरमा गएको अवस्थामा ससुराली घरमै गएर रातको समयमा विवाद गरेपछि पूर्णकी तत्कालीन समयमा पत्नी रहेकी सरिताले प्रहरीको कन्ट्रोल रुममा खबर गरेकी थिइन् । त्यसपछि प्रहरी वृत्त कीर्तिपुरबाट प्रहरी आई करुणा र पूर्णलाई प्रहरी वृत्त कीर्तिपुरमा लगेको थियो ।

तर प्रहरी वृत्तमा पुगेपछि करुणाले एकाएक विवादको विषय बङ्ग्याएर आफूमाथि जबरजस्ती करणी भएको बताइन् । प्रहरीले करणी कुन स्थानमा भएको हो भनेपछि करुणाले प्रहरी वृत्त बालाजुको कार्यक्षेत्रमा पर्ने स्थानमा करणी भएको बताइन् । त्यसपछि कीर्तिपुर प्रहरीले करुणा र पूर्णलाई प्रहरी वृत्त बालाजुमा पठाइदियो ।

२०७८ चैत २४ गते पक्राउ परेका पूर्णविरुद्ध करुणाले चैत २५ गते बेलुका बालाजु प्रहरीलाई ठाडो निवेदन दिएर आफूमाथि बलात्कार भएको बताइन् । तर प्रहरीले जाहेरीकै रुपमा ल्याउन भनेपछि करुणाले एक करोड रुपैयाँ पाए बलात्कारको केस नहाल्ने पूर्णलाई बताइन् ।

तर पूर्णले आफूले बलात्कार नगरेको र एक करोड रुपैयाँ दिन नसक्ने बताए । सरिताका बुबा ध्रुव थापाका अनुसार त्यसपछि त्यहाँ नाताले करुणाको ठूलोबुबा पर्ने अधिवक्ता भोज बहादुर केसीको प्रवेश भयो । केसी नै अग्रसर भएर पूर्ण र उनका श्रीमती तथा ससुरासामु तीनवटा शर्त राखे । पहिलो शर्तमा एक करोड रुपैयाँ मागियो । दोस्रो शर्तमा अमेरिका, जापान लगायतका देशमा बस्ने युवक वा नेपालमै राम्रो आर्थिक हैसियत भएका युवक खोजेर विवाह गरिदिनुपर्ने र तेस्रो शर्तका रुपमा श्रीमती स्वीकार गर्नुपर्ने । तीनवटै शर्त नमाने ‘बलात्कारको केसमा १० वर्ष जेलमा कोचिदिने’ भन्दै केसीले धम्की दिएपछि पूर्ण तेस्रो शर्त स्वीकार गर्न बाध्य भए ।

त्यसपछि अधिवक्ता भोज बहादुर केसीले नै पूर्णकी श्रमिती सरिता थापा र ससुरा ध्रुव बहादुर थापालाई साक्षी राखेर बहुविवाह लाग्ने लिखत तयार पारे । उक्त लिखत अधिवक्ता केसीले नै तयार पारेका थिए भने त्यहाँ करुणा र पूर्णले हस्ताक्षर गरेका छन् । साक्षीका रुपमा पूर्णका ससुरा ध्रुव बहादुर थापा र श्रीमती सरितालाई साक्षी राखिएको थियो । लिखतमा ४५ दिनभित्र आधिकारिक निकायमा विवाह दर्ता गरिनुपर्ने कुरासमेत उल्लेख छ ।

पहिलो कुरा, बलात्कारको कसुरमा मिलापत्र गर्न मिल्दैन भने दोस्रो पहिले नै विवाह गरिसकेका व्यक्ति र श्रीमती हुँदाहुँदै अर्को विवाह गर्न मिल्दैन । त्यसो गरेमा बहुविवाहको कसुर आकर्षित हुन्छ र विवाह गर्ने र गराउने सबैलाई एक वर्षदेखि ५ वर्षसम्मको कैद सजाय र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । यस्तोमा अधिवक्ता भोज बहादुर केसीमाथि पनि सजाय हुन सक्थ्यो । यद्यपि उनले उक्त कागज बनाइदिए ।

त्यहाँबाट निस्किएपछि पूर्णले करुणासँग दुरी बढाउन खोजे । पूर्णलाई श्रीमती सरिताले पनि सम्बन्धविच्छेद गरिन् । त्यसपछि पूर्ण काठमाडौं नआई प्रायः उपत्यका बाहिर नै बसिरहे । करुणाले बारम्बार तनाव दिएपछि उनी करुणाबाट टाढिन खोजे, तर त्यसपछि करुणा झनै उग्र हुँदै पूर्णविरुद्ध खनिन थालिन् । अनि आफ्नै भिनाजुविरुद्ध प्रहरीमा बलात्कारको जाहेरी दिइन् ।

पूर्णले प्रहरीमा दिएको बयानमा आफूले उनलाई बलात्कार नगरेको तर त्यसभन्दा पहिले उनकै आग्रहमा सहमतिमा यौनसम्बन्ध भएको बताएका छन् । वारदात भयो भनेको मितिमा आफूहरुबीच यौनसम्बन्ध नभएको भन्दै पूर्णले बलात्कारका सम्बन्धमा इन्कारी बयान दिएका छन् ।

अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा पूर्णले भनेका छन् :

‘जाहेरवाली परिवर्तित नाम बालाजु ०७९।०८०(५५) मेरो श्रीमतीको ठुलो बुवाको छोरी मेरो साली नाता पर्छिन् । जाहेरवाली परिवर्तित नाम बालाजु ०७९।०८० (५५) मिति २०७२ सालमा निज पढ्न भनि काठमाडौँ डेरा गरी बस्दा विषादी सेवन गरी आत्महत्या गर्न प्रयास गरेको हुँदा तत्काल छिमेकी कोठामा बस्नेहरुले निजलाई उपचारका लागि लगेको, सो बेला निजको बुबा, आमा कोही नभएको हुँदा मेरो सासु आमाले उपचार पश्चात आफ्नै घरमा लगी कलंकीमा राख्नु भएको थियो । सोही २०७२ सालमा मेरो श्रीमती डेलिभरी हुने समय समेत भएको र म पनि घरमा नभई धेरै जसो काठमाडौं बाहिर आफ्नो काममा ब्यस्त हुने हुनाले मेरो सासु आमाले मेरो श्रीमतीलाई हेरचाह गरी दिनु, यहीँ बस्नु निजलाई भने पश्चात जाहेरवालीले मेरो श्रीमतीको हेरचाह गरीदिने भनि केही दिनको लागि मेरो घरमा बसेकी थिइन् । ऐ. फाल्गुन ५ गते मेरो दोस्रो सन्तान छोरीको जन्म भएपछि जाहेरवाली मेरो घरमा रहँदै बस्दै आएकी थिइन् । बनस्थलीमा मैले सञ्चालन गरेको कम्पनीमा कर्मचारीहरु चाहिने भएपछि घर परिवारको सल्लाहले २०७३ सालमा मैले जाहेरवालीलाई कम्पनीमा कार्यालय सहयोगीको रुपमा राखेको थिएँ । मेरो कम्पनीमा काम गर्ने क्रममा जाहेरवाली कहिले आफ्नो डेरा कोठातिर बस्ने, कहिले मेरो घरतिर बस्ने गरेकी थिइन् । निज जाहेरवालीलाई मेरो घर परिवारसँग मैले बाहिर कहिले काहीँ घुमाउनसमेत लाने गरेको थिएँ । काम गर्दै जाने क्रममा निज जाहेरवालीले कम्पनीको आर्थिक कारोबार समेत सम्हालेकी थिइन् । निजको मेरो घर परिवार सबै जनासँग नजिकको सम्बन्ध थियो । म भने काममा धेरैजसो बाहिर हिँड्नु पर्ने हुन्थ्यो । २०७६ सालको कोभिडको लकडाउन हुनुभन्दा अगाडि मेरो श्रीमती ससुरालीमा बुबा एक्लै भएको कारण मसँग सर सल्लाह गरी निजको माइतीमा गई बसेको थिइन् । सोही समयमा जाहेरवालीले मलाई म्यासेजमा मन पराउने कुराहरु उल्लेख गर्दै म्यासेज गर्ने तपाईको श्रीमती माइती गएर बस्नु भएको छ, तपाई एकदमै राम्रो मान्छे भए पनि तपाईलाई आफ्नै श्रीमतीले माया नगर्ने तपाईलाई माया गर्ने मान्छे कोही भएन भनि मैले तपाईलाई माया गर्छु भन्ने जस्तो म्यासेज पठाउने र मलाई फोन समेत गर्ने गर्दथिन् । मैले निजको कुरा÷प्रस्तावलाई वास्ता गर्दैनथेँ । निजलाई मैले मेरो श्रीमती बच्चाहरु छन्, तिमी सँग म सम्पर्क राख्न सक्दिनँ भनी सम्झाउने गर्दथे । तर निज जाहेरवाली २०७६ साल फाल्गुनमा एक्कासी मेरो घर तर निज जाहेरवाली २०७६ साल फाल्गुनमा एक्कासी मेरो घर आई एक्कासी म तपाईको हुन नसक्ने भए निस्की जान्छ् भनि मोबाईल स्वीच अफ गरी हिँडेकी थिइन् । त्यसपछि निज पहिले पनि आत्महत्या प्रयास गरी फेरि पनि गर्छिन् कि भनि म आत्तिएर निज कता गइन् भनि आफन्त सँग बुझिरहेको थिएँ । सोही दिनमा निज चितवन गई कुरिनटारको रिसोर्टमा बसेकी रहिछिन् । रिसोर्टबाट फोन गरी म सँग पैसा छैन भनेकोले मैले सो समयमा रिसोर्ट सञ्चालकसँग फोनमा कुरा गरी एक दिन राखिदिनु, भोलि पैसा के कति हुन्छ म पठाइदिन्छु भनेकोमा उक्त राती जाहेरवाली सोही स्थानमा बसेकी थिइन् । अर्को दिन निज जाहेवालीले मलाई फोन गरी तपाई जसरी भए पनि आउनु प¥यो, तपाई नआएमा म मर्छु भनि फोन गरी मानसिक तनाब दिन थालेपछि मैले निजको घर परिवारलाई खबर गर्न खोजेको तर तत्काल मसँग सम्पर्क हुन सकेन । मैले सम्पर्क गर्न खोजेको कुरा निजले थाहा पाएपछि यदि मैले खबर गरेमा निजले आफू जे पनि गर्न सक्ने भनि बताएकी थिइन् । म २०७६ सालको फाल्गुन २५।२६ गते यकिन मिति भने याद भएन, जिल्ला पर्वत कामबाट पोखरा हुँदै चितवन कुरिनटारमा निज जाहेरवाली बसेको रिसोर्टमा राति २४ः०० बजेको समयमा पुगेको थिए । उक्त राति रिसोर्टमा आई म जाहेरवालीसँगै रिसोर्टको एउटा कोठामा निजलाई सम्झाई सँगै सुतेकोमा उक्त राति हामीहरु सँगै सुते पनि मलाई धेरै शारीरिक तथा मानसिक तनाब भएकाले म छिट्टै निदाएको थिएँ । अर्को दिन बिहान ०७ः०० बजेको समयमा बिउँझिदा निज जाहेरवाली र म सँगै सुतेको हुनाले मैले जाहेरवाली सँगको सहमतिमै उक्त दिन पहिलो पटक मैले निज जाहेरवाली सँग शारीरिक सम्पर्क राखेको थिएँ । बिहान दुवै जना फ्रेस भई ब्रेकफाष्ट गरी सकेपछि मैले निज जाहेरवालीलाई तिमी घरतिर जाउ भन्दा निजले म सँगै जान्छु भनि कर गरेकोमा मैले उक्त दिन निजलाई म पर्सि आउँछु भनि गाडी चढाई काठमाडौं पठाएको थिएँ । तत्पश्चात पनि निज पटक पटक मेरो श्रीमती माइतीतिर भएको समयमा मसँग बस्न आउने सहमतिमै हामीहरुको शारीरिक सम्पर्क हुने गर्दै आएको थियो । मेरो आईफोन मोबाईल, ल्यापटप, स्कुटर मेरो नामको सिमकार्ड समेत निज जाहेरवाली अहिले पनि प्रयोग गर्दै आएकी छन् । काठमाडौँ तिरको विभिन्न स्थानको होटेलमा निजलाई भेट्ने शारीरिक सम्पर्क राख्ने गर्दै आएको थिएँ । जाहेरवालीले जाहेरी दरखास्तमा उल्लेख गरेको अनुसार मैले निजलाई ललाई फकाई गरी आर्थिक प्रलोभनमा पारी मिति २०७८।०८।०४ गते का.जि तारकेश्वर न.पा ३ स्थित रहेको लब्ली रेष्टुरेण्टको कोठा नं. ९ मा लगी जबरजस्ती करणी गरेको भनि उल्लेख गरेको रहेछिन् । निज जाहेरवाली परिवर्तित नाम बालाजु ०७९।०८०(५५) सँगको सहमतिमै मैले शारीरिक सम्बन्ध राख्दै आए पनि मैले जाहेरी दरखास्तमा उल्लेखित मिति समय र होटेलमा लगी बसेको कुरा मलाई यकिन थाहा भएन ।’

यसरी प्रतिवादी बनाइएका पूर्ण बहादुर बुढाथोकीले पहिले आपसी सहमतिमै यौनसम्बन्ध रहेको भए पनि उक्त दिन आफूहरुबीच यौनसम्बन्ध नभएको बताएका छन् । अदालतमा बयान गर्ने क्रममा पनि प्रतिवादी पूर्णले उक्त दिन आफू त्यहाँ नै नगएको बताएका छन् । त्यति मात्रै होइन, करुणा आफैँ पटकपटक एक्लै जहाजमार्फत् पोखरा पुगेको, यौन सम्बन्धका लागि दबाब दिएको र आफू उनीसँग बस्न तयार नभए बलात्कारमा फसाइदिने भन्दै बारम्बार धम्की दिएको बताएका छन् ।

पूर्ण बहादुर बुढाथोकीका पूर्वपत्नी सरिता थापाले २०७८ साल मंसिर ४ गते आफूहरु परिवारसँगै रहेको र बिहानदेखि नै ससुरालीमा खाना खाएर नजिकै रहेको आफन्तको घरमा पारिवारिक भेटघाटमा गएको बताइन् । सरिताले भनिन्, ‘उक्त दिन बिहान दुई वटा फोन आएको मलाई याद छ । त्यो दिन शनिबार या बिदा के थियो, यकिन भएन, तर हामीहरु दुई बच्चासहित चारैजना मेरो माइतीघर अर्थात् कलंकीमा नै थियौँ । हामी मेरो माइतीमै खाना खाएर नजिकै रहेको आफन्तकोमा गएका थियौँ । करुणाले ब्ल्याकमेल गर्नका लागि नै त्यसो भनेकी हुन्, उक्त दिन पूर्ण कहीँ गएकै थिएनन् ।’

सरिता भन्छिन्– दुईपटक आत्महत्याको प्रयास गरेँ

पूर्ण बहादुर बुढाथोकीको पूर्वपत्नी सरिता थापाले करुणाकै कारण आफूले दुई पटक आत्महत्याको प्रयास गरेको बताइन् । रातोपाटीसँगको कुराकानीमा सरिताले रुँदै भनिन्, ‘नाताले मेरो बहिनी थिइ । तर यति बदमास होली भन्ने सोचेको थिइनँ । उसकै कारण मेरो परिवार छिन्नभिन्न भयो । छोरा र छोरी टुहुराजस्तै भए । मैले पीडा सहन नसकेर दुई पटक आत्महत्याको प्रयाससमेत गरेँ । मेरो आमासँग दिदी मरी भने त मेरो हक लाग्छ रे है भनेर समेत भनेकी रहिछ । अति भएपछि मैले श्रीमानसँग सम्बन्धविच्छेद गरेर बसेँ । त्यही तनावका कारण म अहिले डिप्रेसनको औषधि खाइरहेको छु । पूर्ण अहिले मेरो श्रीमान नभए पनि उनी मेरा बच्चाहरुको बुबा हुन् । तर करुणाका कारण परिवार यति तहसनहस भयो कि म अहिले त्यो सब बताउन सक्दिनँ ।’

करुणाले अस्वीकार गरिन् ब्ल्याकमेलको आरोप

पुर्पक्षका लागि थुनामा रहेका पूर्णबहादुर बुढाथोकी, उनकी पूर्वपत्नी सरिता थापा र पूर्णका ससुरा ध्रुव थापाले करुणामाथि ब्ल्याकमेलको आरोप लगाए पनि करुणाले पनि त्यसलाई अस्वीकार गरेकी छन् । रातोपाटीसँगको कुराकानीमा करुणाले ब्ल्याकमेल गरेको भए त्यसको पुष्टि गर्न चुनौतीसमेत दिएकी छन् ।

करुणाले रातोपाटीसँग गरेको कुराकानीको सारसंक्षेप यस्तो छ ।

– म उनीहरु बस्ने घरमा जाँदा उनीहरुले मलाई कुटपिट गरे । त्यसपछि त्यहीँका छिमेकीले प्रहरीलाई खबर गरेपछि कीर्तिपुरबाट प्रहरी आएर सबैलाई लिएर गएको हो । प्रहरी कार्यालय पुगेपछि मैले कीर्तिपुरको प्रहरीलाई आफूमाथि बलात्कार भएको बताएकी थिएँ । प्रहरीले बलात्कार कहाँ भयो भनेपछि मैले अन्तिमपटक बालाजुमा भएको हो भने । त्यसपछि हामीलाई कीर्तिपुरबाट बालाजु पठाइयो । त्यहाँ मैले आफूमाथि बलात्कार भएको ठाडो उजुरी दिएँ ।

– उजुरी दिएपछि त्यहाँ उनीहरुका र हाम्रा मान्छे पनि आए । हामी पनि नाता पर्ने र आफन्त दुवैतर्फका भएपछि त्यहाँ छलफल भयो । उनीहरुले मलाई चेक दिने कुरा पनि गरे । तर हामीले चेक लिएनौँ । मैले उनीहरुसँग पैसाको कुरा गरेको छैन, तर अरुले गरेको भए थाहा भएन । पछि त्यहाँबाट निस्कनका लागि भन्दै त्यो कागज बनाएको हो । पछि मैले नै पारिवारिक विवाद र सामान्य कुटपिट मात्रै हो भनेर मिलापत्र गरेर निस्केको हो ।

– अब कागज किन बनाइयो र कसरी बनाइयो, त्यो मलाई थाहा छैन । कागज बनाउन मिल्थ्यो कि मिल्दैनथ्यो भन्ने पनि थाहा छैन । त्यस्तो कागज बनाएपछि छुट्न मिल्छ भनेर त्यो कागज बनाएको हो ।

करुणाले छुट्न मिल्छ भनेर त्यो कागज बनाएको भने पनि प्रहरी कार्यालयमा त्यस्तो कागजात पेस गर्न मिल्दैन र पेस गरिएको छैन । बलात्कारको विषय मिलापत्र हुन नसक्ने भएकाले ठाडो उजुरीलाई जाहेरी नबनाई छलफल गरेर पछि सामान्य विवाद भनेर प्रहरी कार्यालयमा मिलापत्र भएको पाइएको छ ।

Previous Post

कक्षा १२ को नतिजा कहिले आउँछ ? यस्तो छ बोर्डको तयारी

Next Post

अयोग्य प्रधानमन्त्रीले अफ्ठ्यारो मानेर राजीनामा गर्नुपर्ने हो : ओली

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

अयोग्य प्रधानमन्त्रीले अफ्ठ्यारो मानेर राजीनामा गर्नुपर्ने हो : ओली

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.