काठमाण्डौ, २४ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सय किलो सुन प्रकरणमा पार्टीका कोही पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानुनी कठघरामा उभिनुपर्ने बताएका छन्। छानबिनबाट दोषी प्रमाणित भए कारबाहीको भागेदार हुने बताउँदै उनले आरोप लाग्दैमा भने कोही अपराधी नहुने बताए।
बुधबार पार्टीको उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्ने क्रममा पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आरोप लाग्दैमा अपराधी नहुने भनाइ राखे। ‘यदि कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले दोषी देखायो भने ऊ जान्छ’, उनले भने, ‘तर, आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन। आरोप लाग्दैमा हो हो भनेर जानु पनि हुँदैन।’
उक्त प्रकरणमा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेकाले तत्कालै नेकपा एमालेले माग गरेको विशेष समिति गठन गर्न नसकिने बताए। तर उक्त विकल्प भने बाँकी नै रहेको उनले बताए ।






Discussion about this post