काठमाण्डौ, २४ साउन– तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र माओवादी केन्द्रका कार्यकर्ताबीच १७ वर्षअघि भएको गौर घटनाको फाइल फेरि खुल्ने भएको छ । तत्कालीन फोरम र माओवादी केन्द्रका कार्यकर्ताबीच २०६३ चैत ७ गते भएको झडपमा २७ जनाको ज्यान गुमेको थियो ।
सो घटनामा संलग्न रहेको भन्दै फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताको नाममा किटानी जाहेरी परेको थियो । २०६३ चैत २८ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा सो जाहेरी परे पनि हालसम्म त्यसमाथि कुनै सुनुवाइ नभएको जाहेरीकर्ता रौतहटका अमर साहले भने ।
प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीका स्थायी कमिटी सदस्य एवं रौतहट जिल्ला इन्चार्ज समेत रहेका साहले प्रहरी कार्यालयमा जाहेरी दर्ता भए पनि कारबाही प्रक्रिया अगाडि नबढाइएपछि आफू पटकपटक प्रहरी कार्यालय धाएको भने ।
तत्कालीन एसपीले माथिबाट आदेश आएमात्र कारबाही गर्न सकिने जवाफ दिएर फर्काउने गरेको उनको भनाइ छ । त्यतिबेला थुप्रै जनाले प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए, त्यसमध्ये आफूले उपेन्द्र यादवको नामसहित उजुरी हालेको उनले भने ।
प्रहरीले जाहेरी दर्ता गरे पनि कारबाही नहुँदा गौर घटना पीडितहरुले प्रत्येक प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । काठमाडौँमा रिले अनसन बस्नेदेखि लिएर सरकारलाई विभिन्न ढंगले जानकारी गराउँदै आएको बताउँदै साहले सरकारले दोषीमाथि कारबाही नगर्ने भनेपछि पछिल्लो समय निर्णायक आन्दोलन थालेपछि सम्झौता गर्न बाध्य भएको प्रस्ट पारे ।
‘सरकारसँग भएको यो सम्झौता अक्षरशः पालना होस् भन्ने चाहना हो,’ साहले भने, ‘यो सम्झौता कार्यान्वयन भएन भने हामी फेरि आन्दोलनमा जान्छौँ ।’







Discussion about this post