१० साउन – पछिल्लो समय आगामी दुई वर्ष नेपाली कामदार नलाने भन्दै भाईरल बनेको सूचना गलत भएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले जानकारी गराएको छ ।
ईपीएएस कोरिया शाखाको लेटर प्याडमा ‘तत्काल कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना’ भन्दै फेक सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि ईपीएस कोरिया शाखाले गलत सूचनाप्रति सचेत रहन र उक्त सूचना झुटो रहेको जानकारी दिएको हो ।
लेटरहेड दुरुपयोग गरी गलत सूचना निकाली अतिरञ्जित गर्ने, भ्रम छर्ने र सरकारी लेटरप्याड कीर्ते लगायत गैरकानुनी काम गरेका व्यक्तिलाई कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा समेत लेखी पठाइएको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीले बताए । ईपीएयस कोरिया शाखाको सामाजिक सञ्जालमा पेज बनाएर त्यसमा लोगो र लेटरप्याड समेत राख्ने गरिएको तर्फ ईपीएसले सचेत हुन समेत आग्रह गरेको छ ।
नक्कली फेसबुक खोल्ने, त्यसमा भ्रामक विषय लेखी जथाभावी पोष्ट गर्ने र सत्यतथ्य नबुझी सेयर गर्ने प्रवृत्तिप्रति समेत कोरिया शाखाले ध्यानाकर्षण गराएको छ । सन् २००८ देखि रोजगारीका लागि यस प्रणालीबाट ९० हजार भन्दा बढी नेपाली नागरिक कोरियामा कामका लागि प्रवेश गरिसकेका छन् ।
दक्षिण कोरियामा कामदार पठाउने १६ मुलुकमध्ये नेपाल उत्कृष्ट देशको सुचीमा पर्ने ईपीएस कोरिया शाखाले बताएको छ । यस्तै नेपालमा कोरीयाबाट ठूलो मात्रामा रेमिट्यान्स भित्रिने गरेको छ ।







Discussion about this post