लामो समय पिसाब रोकेर बस्दा बालबालिकामा शारीरिक समस्या मात्र होइन, मानसिक समस्या पनि हुन्छ । पिसाब रोकेर बसिरहँदा कक्षामै पिसाब चुहियो भने के गर्ने भन्ने चिन्ता । कक्षाको बीचमा पिसाब फेर्न जान नपारोस् भनेर पानी कम खाने समेत गर्छन् । कुपोषण भएको बच्चाले पिसाब रोकेर बस्दा त झन् पिसाबथैलीमा ढुङ्गा हुने जोखिम समेत हुन्छ ।
पिसाब कति अवधिमा फेर्नुपर्छ
सामान्यता दुई घण्टाको अन्तरमा पिसाब फेर्नुपर्छ । दिनमा आठदेखि १० पटकसम्म पिसाब फेर्नु पनि सामान्य हो । दुई घण्टाभन्दा अघि छिटोछिटो पिसाब फेर्न दौडिरहनुपर्ने पनि राम्रो होइन र दुई घण्टा भन्दा लामो समयसम्म पिसाब नफेर्नाले पनि विभिन्न समस्या निम्तिन सक्छ ।
कुनै अवस्थामा पिसाब फेर्न सम्भव नै भएन भने पनि तीन घण्टाभन्दा बढी पिसाब रोकेर बस्नु हुँदैन । पिसाबथैली भरिएपछि मिर्गौलाले नै पिसाब कम बनाउन थाल्छ । त्यसैले लामो समय रोकेर बस्दा मिर्गौलामा समस्या निम्तिन सक्छ ।
पिसाब रोक्ने बानीले पिसाबको संक्रमण बारम्बार भइरहन सक्छ । लामो समय र बारम्बार पिसाब रोक्ने बानीले पिसाबथैली कमजोर हुने, मूत्रनलीमा ढुङ्गा बन्ने समस्या पनि हुन सक्छ । साथै पिसाब रोक्ने बानीले दीर्घकालीन रूपमा मिर्गौलाको समस्या नै निम्तिन सक्छ । बच्चाले उपयुक्त मात्रामा पानी पिउने र उपयुक्त समयमा पिसाब फेर्नुपर्छ । त्यसैले यो कुरामा अभिभावकले विशेष ध्यान दिनुपर्छ ।
पिसाब पोल्ने अन्य कारण
वयस्कको तुलनामा बालबालिकामा पिसाब पोल्ने समस्या अलि कम हुन्छ । तर पानी कम खाएर शरीरमा पिसाब नै कम बनेर, पिसाब लामो समय रोकेर संक्रमण भएर तथा पिसाबनलीमा ढुङ्गा भएर बच्चामा पिसाब पोल्ने समस्या हुन्छ । पिसाब पोल्ने समस्याबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्छ ।
-प्रशस्त मात्रामा पानी पिउने
-लामो समय पिसाब रोकेर नबस्ने
-व्यक्तिगत स्वच्छतामा ध्यान दिने
-शौचालयको सरसफाइमा ध्यान दिने
-विद्यालयमा पनि बच्चालाई समय समयमा शौचालय पठाउने
-बच्चालाई प्रशस्त मात्रामा पानी पिउनुको महत्त्व सिकाउने
-महिनावारी सुरु हुने उमेरका बालिकालाई विद्यालयमा महिनावारी स्वच्छताको बारेमा सिकाउने । किनकि महिनावारी स्वच्छतामा ध्यान नदिंदा पनि पिसाबको संक्रमण हुन्छ ।







Discussion about this post