वैशाख ७ गते कृष्ण अमावस्या अर्थात् मातृ अमावस्या । नेपालमा आजको दिनलाई आमाको मुख हेर्ने दिनका रूपमा चिनिन्छ ।यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । आजको दिन छोराछोरीहरू आफूलाई जन्म दिने आमाको मुख हेर्न आमा भएको ठाउँमा जान्छन् मीठामीठा परिकार खुवाएर तथा उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् ।
आमाले नौ महिनासम्म गर्भमा धारण गरेर सन्तान जन्माएकी हुन्छिन् । आमाविना सृष्टिको कल्पनासम्म पनि गर्न सकिंदैन । आफूले खाएको अन्न, जल, वायु एवं संस्कारजन्य छाप शिशुमा दिएर आमाले जानी/नजानी सन्तानको सृष्टि गरेकी हुन्छिन् ।
जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही हुँदैनन् तसर्थ आमालाई महान मानेर हिन्दू संस्कृतिमा भनिएको छ – मातृदेवो भवः ।
संस्कृतमा आमा बुझाउने माता शब्द अत्यन्त प्रिय छ । मात्रा भवतु संमनाः भन्ने अथर्ववेदको ऋचाले गर्भमा शरीरको धारण गर्ने आमाको महत्ता बुझाउँछ ।’ यस्तै ‘आपदि मातैव शरणम्’ अर्थात विपतका समयमा आमाको सम्झना गरिन्छ । कतै लडियो वा ठक्कर लाग्यो भने हरेकको मुखबाट ऐया आमा भन्ने वाक्यांश अनायास निस्किन्छ । किनभने हाम्रो अचेतन मनमा पनि आमाले दह्रो डेरा जमाएकी छिन् ।
भनिएको पनि छ – मात्रा समं नास्ति शरीर पोषणम् अर्थात् प्राणीका लागि आमाले जस्तो हेरचाह र पोषण प्रदान गर्ने अरू हुँदैनन् । यो कुरा मानिसमा मात्र नभई अन्य प्राणीमा समेत लागू हुन्छ । चराले बचेराकै लागि टाढा टाढासम्म पुगेर आफूले नखाएर पनि चुच्चोमा आहार च्यापेर ल्याउँछ । भर्खरै जन्मिएको बाछाको नजिक जाँदा गाईले किन हान्न खोज्छ । बाँदरको बच्चालाई चलाउन खोज्दा उनीहरू हुल उठेर आउँछन् । किनभने उनीहरूमा पनि सन्तानप्रतिको ममता उस्तै छ ।
प्राणीलाई आमाले जस्तो माया गर्ने संसारमा अरू कोही छैनन् । यस्ता आमाको गुणको बखान शब्दद्वारा गरेर सकिंदैन । आमाकै त्याग, तपस्या एवं बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ ।
आमाविना सृष्टि सम्भव नहुने भएकाले सन्तानले आमाप्रति सधैं आभारी हुनुपर्छ । आमाको उपकार अर्थात् मातृऋण कसैगरे पनि तिर्न सकिंदैन तथापि आमाप्रति हार्दिक श्रद्धा प्रकट गरेर केही मात्रामा भएपनि मातृऋणको बोझ हलुका गर्न सकिन्छ ।
आमा धरती हुन् किनभने उनले धर्तीझैं सहनशील भएर बालबालिकाको पालनपोषण एवं सुरक्षा गरेकी हुन्छिन् । आमाले जसरी सन्तानप्रति कुनै कारणविना नै स्नेह प्रदान गर्ने व्यक्ति अरू कोही हुँदैनन् । त्यसैले आमाप्रति सम्मान प्रदान गर्नु सन्तानको पहिलो कर्तव्य हो । यही कर्तव्य पूरा गर्न नेपाली समाजमा हरेक वर्ष मातृऔंसीका दिन आमाको मुख हेर्ने चलन छ ।
आमा जीवित नहुनेहरूले यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन् । उक्त कुण्डमा स्नान गरेपछि आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् ।
मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने जनविश्वास पाइन्छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भइ दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ ।
मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । एक प्रसंगअनुसार भगवान् विष्णुका सातौं अवतार मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे ।
फलस्वरूप राम र स्थानीय बासिन्दाका बीच घनघोर युद्ध भयो । त्यहीबेला सीता मातालाई प्यास लाग्यो । पानी खोज्दा कतै नभेटिएकाले रामले गंगामाताको स्तुति गरे । तीनपटक ‘माता गंगासमो तीर्थ पिता पुष्करमेव चः ।’ भन्ने मन्त्रोच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताले सारा ब्रहृमाण्डको साक्षात् दर्शन पाइन् ।
ब्रहृमाण्डको दर्शन गर्दा उनको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो । त्यतिबेला त्यहाँ घना जंगल थियो । एकपटक गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाँदै थिए । संयोगवश एउटा गोठालो मुखमा रोटी नपर्दै कुण्ड भएतिर मात्र के गएको थियो उसले कुण्डभित्र आफ्नी आमाको दर्शन पायो ।






Discussion about this post