साउन– प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)ले ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ।
हेडक्वाटरले गरेको आन्तरिक छानबिनका क्रममा गम्भीर गल्ती गरेको देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने भन्दै गृहलाई सिफारिस गरिएको छ ।
नेपाल प्रहरीका डीएसपी केसीलाई बर्खास्त गर्न गृहलाई परिपत्र गरिएको केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले जानकारी दिएका छन ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने राय दिएपछि सोही अनुसा बर्खास्तका लागि भन्दै गृह मन्त्रालयलाई प्रहरी हेडक्वाटरले पत्राचार गरेको हो।
प्रहरी ऐन तथा नियमावली २०७१ विपरीत कार्य गरेको पाइएको भन्दै डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख छ ।
करिब एक साताअघि नै प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउन सिफारिस गरे पनि अहिलेसम्म केसीलाई बर्खास्त भने गरिसकिएको छैन।
आफूलाई बर्खास्त गर्नेबारेको पत्र प्रहरी हेडक्वाटरले गृह मन्त्रालयमा पठाएपछि डीएसपी केसी भने बर्खास्त नगर्न भन्दै गृह मन्त्रालयमा धाएका छन्।
शक्तिकेन्द्रमार्फत उनी गृहमा पहुँच लगाएर बर्खास्त हुनबाट रोकिन चलखेल गरिहेको स्रोतले जानकारी दिएको छ ।
प्रहरी नियमावलीको दफा ११३ मा सेवाबाट हटाउने तथा बर्खास्त गर्न सकिनेबारे उल्लेख गरिएको छ। त्यसमा पनि भविष्यमा सरकारी सेवामा प्रवेश गर्न मिल्ने र नमिल्ने गरी हटाउन सकिने उल्लेख गरिएको छ ।
भ्रष्टाचार प्रमाणित भएमा, नैतिक पतन देखिने फौजदारी अभियोग पुष्टि भएमा, कुनै देशको स्थायी आवासीय अनुमतिपत्र लिएमा वा लिनका लागि आवेदन दिएमा लगायतको अवस्थामा भने पुनस् सरकारी सेवामा प्रवेश गर्न नमिल्ने गरी बर्खास्त गर्न सकिने नियमावलीले उल्लेख गरेको छ ।






Discussion about this post