फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ। फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ।
अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ। नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० प्रतिकिलोसम्म थोक मूल्यमा आँप बिक्री भएको छ। गत साल यही समयमा आँपको थोक मूल्य ८० देखि ९० रहेको थियो। आजको मितिमा भने आँपको मूल्य थोकमै ६० माथि पुगिसकेको छ।
जातअनुसार केही आँप अलि महँगो र केही आँप अली सस्तोमा बिक्री हुन्छ। सबैभन्दा बढी माग र बिक्री हुने आँप मालदह हो। यो आँप खुद्रा भने प्रतिकिलो १०० को हाराहारीमा बिक्री भइरहेको छ। दशहरी केही महँगो छ भने अन्य आँप डेढ किलोको १०० मा समेत बिक्री भइरहेको छ।
उत्पादनको मुख्य समयमा त्यसबेला कुलेश्वरबाट दैनिक १०० टन र अझै त्यो भन्दा माथि पनि आँप गएको थियो । अहिले ५० टनको हाराहारीमा आँप काठमाडौँ उपत्यकामा गइरहेको छ। विस्तारै यो घट्दो क्रममा छ भने मूल्य बढ्न थालेको छ।
“यसपालि बजारमा धेरै आँप आयो, त्यसैले आँप सस्तिएको हो”, बाँनियाले भने, “पछिल्लो दशक होइन २०/२५ वर्षको मेरो यो व्यापारकै अनुभवमा यसपालि आँप सबैभन्दा सस्तो भएको छ, नेपाली आँप उत्पादन पनि राम्रो भयो।” उनले मण्डीबाट रु ३० करोड बराबरको आँप बिक्री हुने अनुमान गरे। नेपालमा व्यापारीहरुले फरकफरक ठाउँमा आँप पठाउने भएकाले एकीकृत कारोबार र वार्षिक कारोबार कति भनेर यकिन गर्न नसकिने बाँनिया बताउँछन्।
कृषि विभागका अनुसार पनि यसपालि आँपको उत्पादन बढेको छ। विभागका सूचना अधिकारी, वरिष्ठ कृषि अर्थविज्ञ सुनिलकुमार सिंह यसपटक आँप उत्पादनको सिजन पनि भएकाले उत्पादन बढेको बताए। उनका अनुसार उत्पादन क्रमश बढ्दो क्रममा रहेको देखिन्छ।






Discussion about this post