हामीले दैनिक रूपमा दाल, भात, तरकारी र सागसब्जी खान्छौं । यी खानेकुरामा भिटामिन मिनरल्स हुन्छ । त्यसैले सादा र सन्तुलित खानालाई पहिलो प्राथमिकता दिनुपर्छ ।
प्रोटिनयुक्त खानेकुरा कुखुराको मासु, अण्डाको सेतो भाग खाइयो भने घाउ अलि छिटो भरिन्छ । त्यसैले यस्ता खानेकुरालाई दैनिक खानामा समावेश गर्नुपर्छ । हरियो सागसब्जी, सलाद, दही लसुनजस्ता खाद्यपदार्थले शरीरको रोग प्रतिरोधी प्रणालीको सुरक्षा पनि गर्छ र शरीरलाई संक्रमणबाट लड्न सक्रिय बनाउँछ । यस्ता खानेकुरा पनि खानु उपयुक्त हुन्छ ।
ध्यान दिनुपर्ने कुरा
डाक्टरले चिल्लो, पिरो र अमिलो कम खानु भनेका हुन्छन् । यस्तो भन्ने बित्तिकै चिल्लो खानै हुन्न अदुवा लसुनको पिरो वा मसला पनि खान हुँदैन भन्ने बिरामीलाई लाग्छ । तर थोरै चिल्लो, घरमा प्रयोग हुने मसला, अदुवा लसुन र कागतीको अमिलो सीमित मात्रामा खान मिल्छ ।
अल्सरको अप्रेसन गरिएको बिरामीलाई केही दिन नरम खानेकुरा जाउलो खान दिइन्छ । यस्तोमा बिरामीलाई के लाग्छ भने अब निको नहुन्जेल जाउलो मात्र खानुपर्छ । तर त्यस्तो होइन, बिरामीले सामान्य सन्तुलित खाना खान मिल्छ ।
अल्सर भएको बिरामीले लामो समय खाली पेट बस्नु हुँदैन । हरेक चार–चार घण्टाको अन्तरालमा खाना खानुपर्छ । ग्यास्ट्रिकबाट नै पेटको अल्सर हुने भएकाले ग्यास्ट्रिक नै हुन नदिन सन्तुलित र समयमा खाना खानुपर्छ । जंकफुड , फास्टफुडजस्ता खानेकुरा कम खानुपर्छ ।
अल्सर भएर उपचार गराउनुभन्दा अल्सर हुनै नदिनु उचित हो । यसका लागि हामीले खानपानमै ध्यान दिनुपर्छ । जथाभावी खाने प्रवृत्ति त्याग्नुपर्छ । तारेको, भुटेको, मसालेदार वा सजिलै नपच्ने खालका खानेकुरा, धेरै अमिलो, पिरो खानेकुरा वा प्रशोधित र प्याकेट बन्द खानेकुरा नियन्त्रण गर्नुपर्छ । सुपाच्य र पोषिलो खानेकुरामा जोड दिनुपर्छ । खानामा फलफूल, सलाद, फाइबरयुक्त सागसब्जी समावेश गर्नुपर्छ ।







Discussion about this post