जिल्ला प्रशासन कार्यालय गुल्मीले अशक्तको घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
रेसुङ्गा नगरपालिका–७ नेटा निवासी ‘क’ वर्गका अपाङ्गता भएका नवीन मरासिनीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीसहितको टोलीले घरमै पुगेर मरासिनीलाई नागरिकता प्रदान गरेको हो ।
२०६४ साल फागुन १७ गते जन्मिएका मरासिनीे जन्मेको केही समयपछि शरीर चल्न छोडेको थियो । उनी हिँडडुल गर्न नसक्ने भएकोले नागरिता प्राप्त गर्न सकेका थिएनन् ।
मरासिनी सानै उमेरमा एक्कासी बिरामी परेपछि थलिंदै गएर पूर्ण रुपमा अशक्त बनेको परिवारले जनाएको छ । उनलाई आमा गोमा मरासिनीले स्याहार–सुसार गर्दै आएकी छन् ।
गोमाका २ छोरा र एक छोरी छन् । त्यसमध्ये नवीन कान्छो छोरा हुन् । घरमै यसरी आएर सेवा प्रदान गरेकोमा खुसी लागेको उनले बताइन् ।
नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले अपाङ्गता भएर प्रशासन कार्यालयसम्म आउन नसक्ने नागरिकलाई घरमै पुगेर सेवा दिने कार्यालयको अभियान स्वरुप मरासिनीलाई नागरिकता प्रदान गरेको बताए ।
यसअघि पनि जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय सरकारको समन्वयमा अशक्तहरुका लागि घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ ।
नवीले नागरिकता पाएसँगै सरकारबाट पाउने सेवा लिनका लागि पनि बाटो खुलेको छ ।
घरमै नागरिकता प्रदान गर्ने कार्यक्रममा पुगेका रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले नगरपालिकाको नीति पनि पञ्जीकरण लगायतका कामहरु अशक्तको घरमै पुगेर सेवा प्रदान गर्ने रहेको बताए ।







Discussion about this post