दशैँ लगायत चाडपर्वका बेला नेपालीहरूले साविकभन्दा बढी रकम खर्च गर्छन् । कारण – यी चाडमा आफन्त तथा साथीभाइ जमघट हुने र खानपिन गरी रमाउने मौका !
परिवार र साथीभाइसँग आवश्यक खर्च गर्नु त ठीकै पनि हुन्छ, तर चाडबाडकै बेलामा घुम्ने र बाहिर रमाउने पनि गरिन्छ । यो समयमा अनावश्यक खर्च हुने सम्भावना अधिक हुन्छ ।
चाडपर्वका बेला मदिरा सेवन र जुवातास खेल्नेजस्ता अनावश्यक कुरामा पनि नेपालीहरूले धेरै खर्च गरिरहेका हुन्छन् । तर, त्यस्ता खर्च कटाएर लगानी गर्दा त्यसले भविष्यमा ठूलो फाइदा दिन सक्छ ।
लगानी गर्ने उपयुक्त माध्यममध्ये एक हो – शेयर बजार । चाडपर्वमा गर्ने अतिरिक्त खर्च जोगाउन सक्नुभयो भने तपाईंले शेयर बजारबाट राम्रो प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ ।
यहाँ हामी तपाईंलाई दोस्रो बजारमा लगानी गर्न भनिरहेका छैनौँ । दशैँपछि लगातार ३५ वटा कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओे) जारी हुँदैछ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) का निवर्तमान अध्यक्ष रमेशप्रसाद हमालको पदावधि सकिएपछि बोर्डमा सरकारले नयाँ अध्यक्ष चयन गरी पठाउन सकेन । बोर्ड लामो सयमसम्म अध्यक्षविहीन हुँदा आइपीओे निष्काशनमा पनि समस्या भएको थियो ।
तर, अब सरकारले बोर्डमा अध्यक्ष चाँडै नै नियुक्त गर्ने तदारुकता देखाएको छ । सेबोनमा अध्यक्ष नियुक्त गरे शेयरबजारले लय लिने र त्यसको जस सरकारले प्राप्त गर्ने हुनाले सके दशैँलगत्तै र ढिलामा तिहारसम्म बोर्ड अध्यक्ष नियुक्त गर्ने प्रयास सिंहदरबारभित्र भइरहेको छ ।
बोर्डमा अध्यक्ष नियुक्त हुनासाथ प्रकृयागत अन्तिम चरणमा रहेका ३५ कम्पनीको आइपीओ धमाधम जारी हुनेछ । ती कम्पनीको कूल १७ करोड तीन लाख ३४ हजार ४७ कित्ता आइपीओे हाल पाइपलाइनमा छ ।
धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारीका अनुसार चाडबाड सकिएपछि आइपीओे निष्काशनको प्रक्रिया अगाडि बढ्ने र सर्वसाधारणको लागि खुला हुने छ ।
‘सार्वजनिक लेखा समितले रोक लगाएको बाहेकका आइपीओे तिहारपछि जारी हुन्छ’, अधिकारीले भने, ‘बोर्डमा अध्यक्ष नियुक्त हुनासाथ प्रकृयागत अन्तिम चरणमा रहेका कम्पनीका आइपीओ जारी हुन्छ ।’
बढी मूल्यका पाँच कम्पनी
साधारणतयाः आइपीओे १०० रुपैयाँ मूल्यमा आउने गर्छ । तर, पछिल्लो समय प्रिमियम र बुक बिल्डिङ विधिमार्फत् बढी मूल्यका आइपीओ निष्काशन निम्ति बोर्डले अनुमति दिन थालेको छ ।
चाडबाडपछि पाइपलाइनमा रहेका ३५ मध्ये पाँच कम्पनीले बढी मूल्यको आइपीओे ल्याउन अनुमति मागेका छन् । सबैभन्दा महँगो आइपीओे रिलायन्स स्पिनिङ मिल्सको रहेको छ । जसले ८२० रुपैयाँ ८० पैसा प्रतिकित्ताका दरले आइपीओे निष्काशन गर्न अनुमति मागेको छ ।






Discussion about this post