घरमा हुने कोठाहरु जस्तै, (भान्छाकोठा, पूजाकोठा, बैठक कोठा, गोदाम) आदिको आफ्नो-आफ्नै महत्व छ । जसमध्ये सुत्ने कोठा पनि एक हो । सुत्ने कोठा दिन भरिको थकान मेटाउने, शरीरलाई आराम प्रदान गर्ने र अर्को दिनको लागि शरीरमा साहस र उर्जा भर्ने, मनमा शान्ति दिने स्थान हो । मानिसले आफ्नो पुरा जिन्दगीको करिब एकतिहाइ निन्द्रामै बिताउँछ । तसर्थ, सुत्ने कोठाको छनौट सही तरिकाले गर्नु जरुरि हुन्छ । वास्तु अनुसार सुत्ने कोठा सही स्थानमा भएतापनि त्यसभित्र राख्न हुने-नहुने सामानहरुले पनि घरको वास्तु र त्यहाँ बस्ने मानिसको जीवनमा सकारात्मक तथा नकारात्मक प्रभावहरु पर्न सक्छन् । आजको सन्दर्भमा सुत्ने कोठामा राख्नै नहुने वस्तुहरुको बारेमा जानकारी गराउँदै छौं ।
के-के हुन् त सुत्ने कोठामा राख्नै नहुने चिजहरु ?
पानीसँग सम्बन्धित चित्रहरू, झै-झगडा वा युद्धत, खतरनाक जंगली जनावरहरु, दुखित तुल्याउने तस्वीरहरु आदि टास्नु हुँदैन । यस्ता तस्वीरहरुले त्यहाँ बस्ने मानिसको दिमागमा अस्थिरता, नकारात्मक सोच-विचार, डर, त्रास आदि पैदा गराउन सक्छ ।
सुत्ने कोठामा इलेक्ट्रोनिक सामानहरु जस्तै: टी.भी (T.V), मोबाइल (Mobile), फ्रिज (Fridge), ल्यापटप (Laptop), कम्प्यूटर (Computer) आदि सामानहरु सकेसम्म प्रयोग गर्नुहुँदैन । किनकि, यस्ता सामानहरुले स्वास्थ्यका लागि हानिकारक विकिरणहरु उत्पादन गर्छन् ।
पलङमुनि भएको खाली ठाउँमा अनावश्यक बिग्रेका सामानहरू, पुराना कपडाहरू, टुटेफुटेका चिजहरु राख्नु हुँदैन । यसले कोठाभित्र नकारात्मक उर्जाहरु फैलाउँछ ।
सुत्ने कोठामा सजावटको रुपमा माछा पाल्ने एक्वैरियम (Fish Aquariums) राख्नु पनि अशुभ मानिन्छ । यसले वैवाहिक जीवनमा असर तथा पारिवारिक अशान्ति फैलाउन सक्छ ।
सुत्ने कोठामा पूजा गर्ने मन्दिर,पूजा सामग्री, भगवानको मूर्तिहरू र फोटोहरु राख्नुलाई उपयुक्त मानिँदैन । यदि राख्नै परेमा कुनै पर्दाले ढाकेर राख्न सकिन्छ ।
सुत्ने कोठामा भएको पलङमुनि जुत्ताचप्पल राख्नुलाई फलदायी मानिदैन ।
सुत्ने कोठामा सकेसम्म ऐनाको प्रयोग नगर्नु राम्रो मानिन्छ । यदि राख्नै परेमा पलङको सामुन्ने नपर्ने र आफु सुतेको बेला आफ्नो आकृति परावर्तन नहुने सही स्थान छनौट गरी राख्न सकिन्छ ।
सुत्ने कोठाका झ्यालढोका टुटेफुटेका छन् र सजावटका लागि प्रयोग गरिएको फर्नीचर बिग्रे-भत्केको छ भने तुरुन्त मर्मत सम्भार गर्नुपर्छ । यसले पनि घरभित्र नकारात्मक उर्जा फैलने साथै गरिबी पनि बढाउन सक्छ ।
सुत्ने कोठामा पुरानो भित्तेपात्रो, बिग्रेको वा नचल्ने घडि पनि राख्नु अशुभ मानिन्छ ।
पलङको सिरानी आसपासमा तेल राख्नुलाई वास्तुशास्त्र अनुसार विपरीत मानिन्छ । यसले सुतेको बेला नराम्रो सपना देखिने र भविष्यमा विपत्ति, संकट निम्त्याउन सक्छ ।
सुत्ने कोठामा प्लास्टिकका सामानहरु सकेसम्म प्रयोग नगर्ने, धारिला हातहतियारको उचित व्यवस्थापन गर्ने, ताकि नकारात्मक कुराहरुको सिर्जना र संचार हुन नपाओस् ।
सुत्ने कोठासँग सम्बन्धित थुप्रै वास्तु टिप्सहरु छन् । जहाँ, बिमको सिधा मुनी सुत्ने पलङ राख्न नहुने कुरा पनि यसमा उल्लेख गरिएको छ । यसले आराम दिनुको सट्टा थकानको महसुस, मानसिक तनाव र शारीरिक भार सिर्जना गराउँछ । सुत्ने कोठामा रङ लगाउँदा फिक्का तथा पानी रङको प्रयोग गर्नुपर्ने हुन्छ । माथि उल्लेखित सम्पूर्ण कुराहरुलाई ध्यानमा राखेर आफ्नो सुत्ने कोठा वास्तुशास्त्र अनुसार व्यवस्थापन गर्न सकेमा मानिसको जीवनमा सकारात्मक प्रभाव पर्नसक्छ ।







Discussion about this post