सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्यलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । स्वास्थ्यमा सुधार हुँदै गएपछि काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालले शाक्यलाई डिस्चार्ज गर्ने तयारी गरेको हो ।
अस्पतालले डिस्चार्ज लिन सक्ने भने पनि शाक्यको परिवारले भने निर्णय गरिसकेको छैन । जहाज दुर्घटनामा शाक्यको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको थियो । साथै ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएका छन् । शाक्यलाई साउन १० गते आईसीयूबाट सामान्य वार्डमा सारिएको थियो ।
गत बुधबार विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो । विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । दुर्घटना भएको २३ मिनेटपछि शाक्यलाई भने उद्धार गरेर अस्पताल पुर्याइएको थियो ।
उद्धारमा खटिएका प्रहरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गर्दा क्याप्टेन शाक्य बोल्न सक्ने अवस्थामै थिए । उनले ‘म ठीक छु, अरूलाई हेर्नू’ भनिरहेका थिए । दुर्घटनालगत्तै उद्धार गरेर क्याप्टेन शाक्यलाई विमानस्थलबाट नजिकै रहेको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पुर्याइएको थियो ।







Discussion about this post