आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन। आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ। मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो।
आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ। आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो। माता तिर्थ औंशीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मीठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन्। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम तथा टिकटकमार्फत पनि धेरैले आमाप्रति सम्मान व्यक्त गरिरहेका छन्। जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो।
एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो। त्यो घटनाले गोठालाहरु अचम्मित भए। गोठालाले पुनः अरु रोटीका टुक्राहरु पनि फ्याँके। ती टुक्राहरु क्रमशः हराउँदै गए। ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन्।
तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन्। आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए। उक्त दिन बैशाख कृष्णपक्ष औंशी थियो। यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए। गाउँलेहरुले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे।






Discussion about this post